सशस्त्र मुख्यालयको आगलागी प्रकरणमा सई पनि पक्राउ

सशस्त्र मुख्यालयको आगलागी प्रकरणमा सई पनि पक्राउ

केन्द्रबिन्दु
0
Shares

एस.के. बैश्य । काठमाडौं, १६ पुस ।

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकस्थित स्टोर भवनमा भएको आगलागी प्रकरणमा सोही मुख्यालयका लेखा शाखामा कार्यरत एक नायब निरीक्षक (सई) लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सई हुमबहादुर थापालाई महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको हो । आगलागी प्रकरणको अनुसन्धानको क्रममा सई थापाको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए ।

सर्ईलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरी थप अनुसन्धानका लागि म्याद समेत थप गराइएको एसएसपी लोहनीले बताए । यसअघि प्रहरीले हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र मुख्यालयमा भएको अनियमितताको छानबिन थालेपछि लेखामा कार्यरत कर्मचारीहरुले प्रमाण नष्ट गर्न योजनाबद्ध रुपमा आगो लगाएको सशस्त्र प्रहरीकै आन्तरीक छानबिनमा समेत खुलिसकेको स्रोतले बताएको छ ।

पक्राउ परेका हवल्दारले पटक पटक अख्तियारले बयानका लागि बोलाएपछि आफू भ्रष्टाचार मुद्दामा फस्ने डरले आगो लगाएको स्विकारीसकेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

विगतका कारोबारको बिल लगायत कागजपत्र स्टोर शाखामा राखिएको र विद्युत् सर्ट भएर आगो लागेको भनेर कागजपत्र जलाएर कारबाहीबाट जोगिने प्रयास लेखा शाखाका कर्मचारीले गरेका थिए ।

हवल्दार श्रेष्ठले राती साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा पेट्रोल छर्किएर आगो लगाएका थिए । दुई वटा दमकलले साढे २ घन्टामा आगो नियन्त्रणमा लिइएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूले आगलागी मुद्दामा हवल्दार विरुद्ध कारबाही अघि बढाएको थियो ।

हवल्दारमाथि नै अनुसन्धान गर्ने क्रममा लेखाका अन्य कर्मचारीहरुको पनि संलग्नता रहेको खुलेको छ । गृह मन्त्रालयले पनि यस घटनाको अनुसन्धान गरिरहेको छ ।

 

Logo