विश्वकप छनोटअघि नेयमार किन तानिए विवादमा ?

विश्वकप छनोटअघि नेयमार किन तानिए विवादमा ?

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । ब्राजिलियाली सुपरस्टार नेयमार जुनियर एक पटक पुनः चर्चाको केन्द्रमा आएका छन्, तर यसपटक उनको खेलका कारण नभई मैदानमा भएको एउटा ‘विचित्र’ विवादका कारण।

आइतबार राति ब्राजिलियन सिरी ‘ए’ अन्तर्गत कोरिटिबा विरुद्धको खेलमा सन्तोष ३-० ले पराजित भइरहँदा नेयमार गलत सब्स्टिच्युसनको सिकार भएका हुन्।

खेलको ६५ औं मिनेटमा नेयमार पिँडुलाको चोटको उपचारका लागि मैदान बाहिर रहेको बेला यो घटना घटेको हो। चौथो अफिसियलले १० नम्बरको बोर्ड उठाउँदै नेयमारको सट्टामा १८ वर्षीय रोबिन्हो जुनियरलाई मैदान प्रवेश गराएका थिए। वास्तवमा प्रशिक्षक कुकाले रक्षक गोन्जालो एस्कोबारलाई बाहिर बोलाउन चाहेका थिए, तर झुक्किएर नेयमारको नम्बर देखाइयो।

आफू बाहिरिनु पर्ने निर्णयबाट स्तब्ध बनेका ३४ वर्षीय नेयमारले पुनः मैदान छिर्ने प्रयास गरेका थिए। सो क्रममा रेफ्रीसँग उनको चर्काचर्की परेको थियो र रेफ्रीले उनलाई पहेँलो कार्ड समेत देखाएका थिए।

आक्रोशित बनेका नेयमारले रेफ्रीको हातबाट आधिकारिक ‘सब्स्टिच्युसन स्लिप’ खोसेर टेलिभिजन क्यामरातिर देखाउँदै आफ्नो नाम नभई एस्कोबारको नाम रहेको प्रमाणित गर्ने प्रयास गरेका थिए । तर, खेल पुनः सुरु भइसकेकाले उनको विरोधको सुनुवाइ भएन। अन्ततः निकै असन्तुष्ट देखिँदै उनले एस्कोबारलाई क्याप्टेन आर्मब्यान्ड सुम्पिएर मैदान छोडेका थिए।

“यो केवल एउटा प्राविधिक गल्ती मात्र थिएन, मेरो लागि विश्वकप टोलीमा स्थान बनाउने अन्तिम अवसर पनि थियो,” नेयमारको हाउभाउले यस्तै संकेत गरिरहेको थियो।

विश्वकपमा छनोट हाेलान् ?

यो घटना यस्तो समयमा भएको छ जब ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले भोलि आगामी विश्वकपका लागि टोलीको घोषणा गर्दैछन्। चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका ब्राजिलका कीर्तिमानी गोलकर्ता (७९ गोल) नेयमारका लागि यो खेल एन्सेलोटीलाई प्रभावित पार्ने अन्तिम मौका थियो। यस सिजन सन्तोषका लागि १६ मध्ये ८ खेल मात्र खेलेका नेयमारले ४ गोल गरेका छन्। टोली रेलिगेसन क्षेत्रमा धकेलिएको र मैदानमा यस्तो अनुशासनहीन व्यवहार देखिएपछि उनले विश्वकप टोलीमा स्थान पाउने वा नपाउने भन्ने विषयमा अन्योल बढेको छ।

Logo