काठमाडौं । नेपाल बार एसोसिएसनले आज न्यायको खोजीका लागि दिउँसै लालटिन जुलुस निकाल्ने निर्णय गरेको छ । बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको हो ।
सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा लालटिन जुलुस गर्न लागिएको बार महासचिव कोईरालाले बताए । सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरू दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।
संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिए पनि प्रशासनले अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।
यस्तै सोही विषयमा समेत सोमबार प्रतिनिधिसभामा कतिपय सदस्यहरूले गरेको टिप्पणीमा समेत बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारको निर्णयमा भनिएको छ, ‘‘मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेबाए प्रांगणमा लालटीन बाली अदालतको प्रशासनको उपरोक्तानुसारको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ ।”
बारले दरपीठ उपरको निवेदन विनाकारण दर्ता नगरी राख्ने विषय प्रशासनको अधिकार बाहिर न्याय मार्गमा अवरोध पुर्याउने कार्य रहेको ठहर गरेको छ ।
अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न बन्देज गर्ने संविधानको धारा १०५ को प्रावधानलाई नजरअन्दाज गरिएको पनि निर्णयमा जनाइएको छ ।
“आवेश प्रेरित एवं दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार स्पष्ट छ,” बारले भनेको छ ।





























प्रतिक्रिया