काठमाडौं,१५, पुस
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि अवरुद्ध ‘राजनीतिक गाँठो’ फुकेको छ । दुई महिना बढी राष्ट्रपति कार्यालयमा थन्किएको अध्यादेश प्रमुख दलहरुको सहमतिमा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि राष्ट्रपति भण्डारीले अध्यादेश अनुमोदन गरेपछि राजनीतिक ‘गाँठो’ फुकेको हो ।
यो विधेयक पारितका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले–कांग्रेस दुवैले आफ्नो अडानबाट पछि हट्नु पर्ने भन्दै बिहीबार मात्रै मध्यमार्गी बाटो खोज्नु पर्ने बताएका थिए । उनले एकल संक्रमणीयबाट गएर केही सीट कांग्रेसलाई दिने कुरामा मन सानो बनाउन नहुने बताएका थिए । अध्यादेश प्रमाणीकरणसँगै राष्ट्रिय सभा र सरकार गठन सम्मको बाटो खुलेको छ । नेपाल बार एसोसियनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रिय सभा सम्बन्धी अध्यादेश प्रमाणीकरण पछि राजनीतिक ‘डेडलक’ समाप्त भएको बताए ।
उनले राष्ट्रपतिको कार्यालयमा लामो समय रोकिएको अध्यादेश जारी गर्न कुरा सकारात्मक र स्वागतयोग्य कदम भएको बताए । अधिवक्ता केसीले भने, ‘अब सबै कन्फ्युजन सकियो, राजनीतिक ‘डेडलक’ हट्यो ।’
अन्नपूर्णबाट































प्रतिक्रिया