काठमाडाैं । मलेसियामा जारी दुई खेलको महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई २ विकेटले पराजित गरेको छ।
बुधबार क्ल्याङस्थित वायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले रोमाञ्चक जित हात पार्दै शृंखलामा १-० को अग्रता बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसिया नेपाली बलरहरूको कसिलो बलिङसामु निरीह साबित भएको थियो। मलेसियाले १६ दशमलव ५ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै मात्र ६७ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि एल्सा हन्टरले १४ बलमा सर्वाधिक १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालकी पुजा महतोले सानदार बलिङ प्रदर्शन गरिन्। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिइन्। त्यसैगरी, रिया शर्माले २.५ ओभरमा १३ रन र मनिषा उपाध्यायले ४ ओभरमा १७ रन दिँदै समान २-२ विकेट हात पारे।
६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले पनि उक्त लक्ष्य भेटाउन निकै संघर्ष गर्नुपरेको थियो। नेपालले १५ बल बाँकी छँदै १७ दशमलव ३ ओभरमा ८ विकेटको क्षतिमा ७१ रन बनाएर लक्ष्य पूरा गर्यो।
नेपाललाई जितसम्म पुर्याउन सम्झना खड्काले महत्त्वपूर्ण इनिङ्स खेलिन्। उनले ३९ बलको सामना गर्दै सर्वाधिक ३२ रनको योगदान दिइन्। त्यस्तै, रुबि पोद्दारले २२ बलमा १५ रन जोडिन् भने कविता जोशी ८ बलमा ६ रन बनाउँदै अविजित रहिन्।
मलेसियाका लागि बलिङतर्फ नुर क्वाल्यसा नोरिफेन्डीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकिनन्। त्यस्तै, एसा इलेसा र एल्सा हन्टरले समान २-२ विकेट लिएका थिए।































प्रतिक्रिया