जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन -सांसद इन्दिरा रानामगर

जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन -सांसद इन्दिरा रानामगर

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।

उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिनै विस्थापित गर्न नहुने स्पष्ट धारणा राख्दै सरकार र स्थानीय तहले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने बताइन्।

शुक्रबार पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले पार्टीभित्र प्रदेशगत रूपमा समस्या पहिचान गर्ने र सम्बन्धित क्षेत्रका सांसदले आफ्ना मुद्दा प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष राख्ने अभ्यास सुरु भएको जानकारी दिइन्।

उनले भनिन्, ‘अब हामीले भेट्न पाउँदैनौँ, सभापतिज्यू धेरै बिजी हुनुहुन्छ। अहिले प्रदेशस्तर रूपमा आफ्ना–आफ्ना क्षेत्रका समस्या राख्ने काम भएको छ । समस्या कहाँ छ, जनताले के भोगिरहेका छन् भन्ने विषयमा छलफल गर्ने वातावरण बनेको छ । यो राम्रो सुरुवात हो ।’

राना मगरले विशेषगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयमा पार्टीको स्पष्ट धारणा आवश्यक रहेको बताइन् । स्थानीय सरकारले कतिपय ठाउँमा लालपुर्जा पाइसकेका बासिन्दालाई समेत उठ्न नोटिस दिइरहेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरिन्। ‘मानिसहरूले वर्षौँदेखि कर तिरिरहेका छन्, घर बनाएका छन्, जीवन बिताइरहेका छन्, त्यस्ता नागरिकलाई एक्कासि उठ्नू भन्न मिल्दैन,’ उनले भनिन् ।

उनका अनुसार कतिपय नागरिकले अझै लालपुर्जा नपाएको अवस्था छ भने कतिपयले जग्गाको मूल्यभन्दा बढी कर तिर्नुपरेको समस्या भोगिरहेका छन्। ‘यसमा पार्टीको स्पष्ट धारणा आउनुपर्छ । स्थानीय सरकारले जे पायो त्यही गरिरहेको जस्तो देखिन्छ। त्यो विषयमा नेतृत्वसँग स्पष्टता खोजेको हुँ,’ उनले बताइन् ।

उनले नदी संरक्षण र सार्वजनिक जग्गा संरक्षणको विषयलाई कानुनले नै व्यवस्था गरेको स्वीकार गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास उपयुक्त नभएको उल्लेख गरिन्। तर दशकौँदेखि सुरक्षित रूपमा बसोबास गरिरहेका नागरिकलाई विकल्पबिनै हटाउन नहुने उनको भनाइ थियो।

Logo