कर्मचारीको तलब ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

कर्मचारीको तलब ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सरकारी कर्मचारीको तलब बढाउने तयारी भएको छ । कर्मचारीको तलब ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस गरेको छ ।

मुख्यसचिव सुमनराज अर्याल अध्यक्ष, अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको तलब भत्ता पुनरावलोकन समितिले तलब बढाउन सिफारिस गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्य सचिवको एक लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस गरेको हो । हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ छ ।

पुनरावलोकन समितिले गरेको सिफारिसअनुरुप नै तलब वृद्धि भयो भने सबैभन्दा तल्ला तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले बढ्नेछ, भने मुख्यसचिवको तलब ५६.७१ प्रतिशतले बढ्नेछ ।

‘पुनरावलोकन समितिले बढाउनुपर्छ भनेर सिफारिस गरिसकेको छ,’ समान्य प्रशासन मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कति बढाउने भन्ने अन्तिम निर्णय सरकारले आर्थिक अवस्था हेरेर गर्ला ।’

सरकारले बजेट निर्माणका क्रममा कर्मचारीको तलब-भत्ता र राजस्वका दरका विषयमा अन्तिमतिर निर्णय गर्छ । हालसम्म अर्थ मन्त्रालयमा तलब भत्ता वृद्धिका विषयमा छलफल नभएको मन्त्रालयका एक अधिकारीले बताए ।‘पुनरावलोकन समितिले तलब बृद्धिको सिफारिस गरेको जानकारी आएको छ । तर, बजेट निर्माणका क्रममा यस विषयमा हालसम्म छलफल भएको छैन । केही दिनमा निर्णय होला,’ अर्थ मन्त्रालयका ती अधिकारीले बताए ।

निजामती कर्मचारीहरूको संगठनले आधारभुत तलबमान ३८ हजार ८६२ रुपैयाँ बनाउन माग गरेका छन् ।

Skip This
Skip This
Logo