बाढी पहिरोले कुन-कुन राजमार्ग अझै छन् अवरुद्ध

बाढी पहिरोले कुन-कुन राजमार्ग अझै छन् अवरुद्ध

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पछिल्लो केही दिनदेखिको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीलेको विवरण अनुसार, बाढी र पहिरोका कारण कर्णाली, गण्डकी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्।

प्रहरीका अनुसार कर्णाली करिडोर अन्तर्गत कालीकोटमा जेठ ८ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत लम्जुङको बिमिरेभन्ज्याङमा जेठ ४ गतेदेखि नै पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ।

हुम्लाको नाम्खा गाउँपालिका–२ मा सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै वैशाख २९ गतेदेखि नै हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको खतराका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो खण्डमा वैशाख २२ गतेदेखि नै अर्को आदेश नभएसम्मका लागि सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

केही स्थानमा भने पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग र संखुवासभाको मकालुमा पहिरोका कारण कोशी राजमार्ग एकतर्फी सुचारु छ। म्याग्दीको बेनी-जोमसोम सडक खण्डको जलथले र तल्लो बैसरीमा गएको पहिरोपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

Skip This
Skip This
Logo