एमालेभित्र बाहिर आएजस्तो नेतृत्व परिवर्तनको कुनै मुद्दा उठेको छैन -लेखराज भट्ट

एमालेभित्र बाहिर आएजस्तो नेतृत्व परिवर्तनको कुनै मुद्दा उठेको छैन -लेखराज भट्ट

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै मुद्दा नरहेको बताएका छन् ।

भक्तपुरको गुण्डुमा बसेकाे सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्याहरूलाई अध्यक्षकै नेतृत्वमा समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उपमहासचिव भट्टका अनुसार बैठकमा नेताहरूले आ–आफ्नो अनुभव र पार्टीको कामकारबाहीबारे धारणा राखिरहेका छन्। हिजोदेखि सुरु भएको छलफलमा आज सचिवहरू र उपमहासचिवहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए। उनले बैठकमा उठेका कतिपय विषयहरू बाहिर ‘अतिरञ्जित’ ढंगले आएको टिप्पणी गर्दै पार्टीको मुख्य लाइन र अनुशासनभन्दा बाहिर गएर कोही पनि नबोलेको दाबी गरे ।

नेतृत्व परिवर्तन र उपाध्यक्षहरूको असन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा भट्टले भने, “नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने कुरा कसैले राखेको मलाई लाग्दैन। नेतृत्वका केही कमी–कमजोरीका विषयमा कुरा उठेका होलान्, तर ती समस्याको समाधान अध्यक्षकै नेतृत्वमा खोजिनुपर्छ र उहाँकै कमान्डमा पार्टी अगाडि बढ्नुपर्छ भन्ने साझा भाव छ।”

उनले पार्टीभित्र रहेका कमी–कमजोरीहरूलाई सच्याउँदै, आन्तरिक एकता कायम गरेर देशको वर्तमान संकटविरुद्ध पार्टी एकढिक्का हुनुपर्ने बताए। कार्यकर्तामा देखिएको उदासिनतालाई ऊर्जामा बदल्न र पार्टीलाई व्यवस्थित बनाउन बैठकले ठोस दिशा लिने उनको विश्वास थियो।

बैठकमा कार्यविभाजन र अन्य संगठनात्मक एजेन्डाहरू सहित कुल ११ वटा प्रस्तावमा छलफल भइरहेको छ। बाँकी रहेका सचिवहरूले धारणा राखिसकेपछि ती एजेन्डाहरूमा विस्तृत छलफल हुने बताइएकाे छ ।

Skip This
Skip This
Logo