आज पनि गुण्डुमा बस्दै एमाले सचिवालय बैठक, अध्यक्ष ओलीले जवाफ दिने

आज पनि गुण्डुमा बस्दै एमाले सचिवालय बैठक, अध्यक्ष ओलीले जवाफ दिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ । एमाले अध्यक्ष केपी ओलीकी निवास गुण्डुमा भइरहेको बैठकमा पार्टीका पदाधिकारीहरु एकपछि अर्को गरेर अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिइरहेका छन् ।

नेतृत्वको वरियता र कार्यविभाजनको मूल एजेन्डा राखेर शुक्रबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ । उनले हिजोको बैठकमा आफूले थप आइतबारको बैठकमा बोल्ने बताएका थिए । पहिलो दिनको बैठकमा पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा बादलले मात्रै ओलीको नेतृत्वलाई थप परिस्कृत बनाएर लैजानु पर्ने बताइरहँदा बाँकी चार उपाध्यक्षले पार्टी संकटमा परेको अवस्थाको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्न सुझाएपछि बैठक स्थगित भएको थियो ।

शनिबार भएको बैठकमा महासचिव शंकर पोखरेलले समेत मार्गप्रशस्तकै पक्षमा तर्क गरेपछि अध्यक्ष ओली समस्यामा परेका छन् । उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसमेत ‘यु टर्न’ भएपछि सचिवालयमा अध्यक्ष ओली कमजोर देखिएका थिए ।

शनिबार भएको बैठकमा बोल्ने उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेक अन्य नेताहरु आफ्ना विपक्षमा उभिएका थिए । आजको बैठक बिहान ११ बजेपछि तय भएको छ । आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने तालिका पनि छ ।

Logo