दाङ ,१२,पुस
लामो समय देखि जीर्ण बनेका नेपाल–भारत सीमा स्तम्भ मर्मत गर्न शुरु गरिएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त प्राविधिक टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समय सम्म सिमा स्तम्भ मर्मतको काम नहुँदा र्इँट्टा र सिमेन्टले वनाइएका स्तम्भ भत्कन शुरु गरेका थिए । कतै स्तम्भ पुरिएका छन् भने कतै भत्केर नचिनिने भएका छन् । नेपाल–भारत सीमामा पर्ने दाङ क्षेत्रमा स्तम्भ मर्मत शुरु गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
यसका लागि नेपाल र भारतको संयुक्त टोली परिचालन गरिएको छ । यो टोलीले सिमा स्तम्भ मर्मतको काम अघि वढाएको प्रमुख नापी अधिकृत बलराम पोख्रेलले जानकारी दिए। जोर नम्बर भएको सिमा स्तम्भ भारतको तर्फबाट र बिजोर नम्वर रहेका सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फबाट गरिने पनि उनले जानकारी दिए । मर्मत गर्दा संयुक्त प्राविधिक टोली भने सँगै रहनेछ ।
पूर्वमा कपिलवस्तु र पश्चिममा वाँकेको सिमाना सम्म दाङ जिल्लामा ७७ वटा सीमा स्तम्भ रहेका छन् । जस मध्ये ६७ वटा स्तम्भ पूर्णरुपमा जीर्ण भइसकेका छन् । ती सबै स्तम्भको मर्मत गरिने पोख्रेलले जानकारी दिए । ६०१ नम्वरको स्तम्भ पूर्णरुपमा बनाउने गरी भत्केको छ भने थप अर्को स्तम्भ खोलाले वगाएको छ । यसको विवरण नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले राखेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया