ललितपुर । नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन र अद्यावधिक प्रक्रियालाई तीव्रता दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज सभापति गगनकुमार थापाको विशेष उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पिएको छ।
समितिले कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, र सुदूरपश्चिममा उदय शमशेर राणालाई जिम्मेवारी तोकेको छ। त्यसैगरी, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र लुम्बिनी प्रदेशमा अमरसिंह पुनलाई अनुगमन र समन्वयको विशेष कार्यभार दिइएको छ।
साथै बैठकले १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुन बाँकी सदस्यहरूको विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य आगामी २०८३ साल जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकेको छ। साथै, १४ औं महाधिवेशनका बेला छानविन समितिले आधिकारिकता दिएका सदस्यहरूलाई पुरानो सदस्यताकै मान्यता दिई नवीकरण प्रक्रियामा सामेल गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय समेत भएको छ।
अन्य राजनीतिक दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी विवाद समाधान गर्न समितिले विभिन्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसमा डा. गोपाल दहित (बारा), आङ्गेलु शेर्पा (सिराहा), अब्दुल सत्तार (धनुषा), राजीव ढुंगाना (सप्तरी), कुसुम थापा (सोलुखुम्बु), देवप्रसाद तिमिल्सिना (सर्लाही), तिलक रानाभाट (सुर्खेत), प्रमोदहरि गुरागाईँ (महोत्तरी), टेकराज पौडेल (कपिलवस्तु), जगदीश नरसिंह के.सी. (सुनसरी), कमलकिशोर घिमिरे (रौतहट), कृष्ण रिजाल (पर्सा) र इश्वर अधिकारी (काठमाडौं) रहेका छन् ।
बैठकले नेपाली कांग्रेस जनसम्पर्क समितिहरूको हकमा पनि स्पष्ट कार्यदिशा तय गरेको छ। अधिवेशन सम्पन्न भएका ७ देशका समितिलाई अद्यावधिक प्रक्रिया सुरु गर्न अनुमति दिइएको छ भने समस्या नभएका १५ देशका समितिलाई अधिवेशनको कार्यतालिका पेश गर्न भनिएको छ। यस्तै, सम्पर्कमा कम रहेका ७ देश र समस्या देखिएका ८ देशका जनसम्पर्क समितिहरूसँग आवश्यक समन्वय र अध्ययन गर्ने निर्णय भएको छ।





























प्रतिक्रिया