अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउदै

अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउने भएकी छिन् । सरकार गठनको करिब दुई महिनाभित्र उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका हुन् । तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउन लागेकी हुन्।

चैत १३ गते प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।

यसअघि वैशाखमा छुट्टाछुट्टै नेपाल आएका अमेरिकी अधिकारीहरू समीर पल कपुर र सर्जियो गोरभन्दा पनि रोजर्स माथिल्लो तहकी अधिकारी हुन् । सरकार गठनयता लगातार उच्चस्तरीय अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भइरहनुले कूटनीतिक वृत्तमा चासो बढाएको छ।

परराष्ट्र मन्त्रालयले रोजर्सको भ्रमणबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सहयोग तथा सहजीकरण गर्न अनुरोध गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले काठमान्डु पोस्टलाई बताए ।

यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर ७ वैशाखमा काठमाडौं आएका थिए । तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए । छलफल मुख्यतः द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र नेपालको लगानी वातावरण सुधारमा केन्द्रित थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार कपुरले आगामी ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा सहभागितालगायत व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए । उनले नेपाली प्रतिनिधिमण्डललाई अमेरिकी लगानीका अवसरहरू खोज्न आग्रह गरेका थिए । साथै, नेपालको उदीयमान प्रविधि क्षेत्र– डिजिटल पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा सहकार्य विस्तारबारे निजी क्षेत्रसँग पनि संवाद गरेका थिए ।

Logo