काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण हाल विभिन्न देशमा तीव्र गतिमा फैलिएको छ । यो सामाग्री तयार पार्दासम्म विश्वभर संक्रमितको संख्याले ४ करोड ८४ लाख ७९ हजार नाघेको छ । जसमध्ये ३ करोड ४७ लाख १ हजार बढी निको भएका छन् भने, १२ लाख ३१ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
भाइरसको असर पहिलो चरणको भन्दा कडा रहेको अनुमान गर्दै त्यसबाट जोगिनका लागि युरोपका अधिकांश मुलुकहरुले लकडाउन र कर्फ्यु समेत घोषणा गरेका छन् । केही देशहरुले स्वास्थ्य सजगताको मापदण्डलाई कडाइपूर्वक लागू गरेका छन् :
१. बेलायत
बेलायतमा दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमितहरुको संख्या पहिलो चरणको संक्रमणभन्दा दोब्बर भएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले डिसेम्बर २ सम्मका लागि लकडाउनको घोषणा गरेका छन् । जोन्सनले आफ्नो मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरुसँग भेट गरेपछि यो निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीले विपक्षी र आफ्नै सांसदहरुको नारावाजीलाई वेवास्ता गर्दै दोस्रो लकडाउन घोषणा गरेका छन् । बेलायतमा हालसम्म १० लाख भन्दा बढी संक्रमितहरु फेला परेका छन् । यसै बीच, देशको विभिन्न भागमा लकडाउन विरोधी प्रदर्शन गर्नेहरुबीच हिंसाका रिपोर्टहरु समेत आएका छन् । सरकारले अति आवश्यक सेवाहरुमा पनि केही कटौती गरेको छ । किनभने धेरै ब्यक्तिहरु विभिन्न बहानामा प्रतिबन्धको मजाक गर्दै बाहिर निस्किने गरेका छन् । यहाँका अस्पतालहरुमा फेरि बिरामीहरु दिन प्रतिदिन बढ्न थालेका छन् ।
२. बेल्जियम
उग्र विरोधका बाबजुद पनि बेल्जियम सरकारले लकडाउन जारी गरेरै छोडेको छ । युरोपमा संक्रमणदर उच्च रहेका देश मध्ये बेल्जियम पनि एक हो । यहाँ संक्रमण उच्च रहे पनि मृत्युदर भने घटदो क्रममा छ । बेल्जियमको राष्ट्रिय लकडाउनलाई थप कडा बनाउन कफ्र्यू समेत लगाइको छ । यहाँ राति १० बजेदेखि बिहान ६ बजेसम्म कफर्यु जारी गरिएको छ ।
सरकारले एक भन्दा बढी पाहुना कुनै पनि घरमा जान नहुने नियम बनाएको छ । रेष्टुरेन्ट, बार लगायत सर्भिस सेन्टर पूर्णरुपमा बन्द रहेका छन् । तीन जना भन्दा बढी मानिसलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ । साँझ ८ बजेपछि मदिरा विक्रीवितरणमा रोक लगाइएको छ । यस्तै विद्यालयहरुमा परीक्षा नोभेम्बर अन्तिमसम्मका लागि स्थगित गरिएको छ । घरबाट काम मात्र गर्न सकिने व्यवस्था बनाएको छ । सरकारी अधिकारी र कर्मचारीलाई कार्यलय आउन भने अनुमति दिइएको छ । यद्यपी उनीहरुको कोरोना रिपोर्ट नकारात्मक हुनुपर्नेछ । कोरोना माहामारीका कारण बन्द भएका कम्पनीका कामदारलाई सरकारले ७० प्रतिशत बेरोजगार भत्ता उपलब्ध गराएको छ ।
३. जर्मनी
जर्मनीमा गत नोभेम्बर २ बाट एक महिना लामो लकडाउन जारी भएको छ । यो लकडाउनले उग्रदरमा बढिरहेको कोरोना संक्रमणलाई लगाम लगाउने विश्वास ब्यक्त गरिएको छ । यस अवधिमा दुई घरका १० जना भन्दा धेरै मानिसको जमघट प्रतिबन्ध गरिएको छ । नाट्यघर, सिनेमा हल पूर्णरुपमा बन्द रहनेछन् । स्विमिङ्ग पुल, जिम, साउना बाथ आदि बन्द रहनेछन् । स्पोर्टस इभेन्टमा सीमित व्यक्तिहरुको मात्र सहभागिता रहने छ ।
यस्तै रेस्टुराँ, बार पूर्णरुपमा टेक अवे सेवामा सञ्चालन गर्नु पर्नेछ । ठूला भनिएका सबै ईभेन्ट बन्द रहनेछन् । अनावश्यक आवत–जावत प्रतिबन्धित रहनेछन् । इमर्जेन्सी बाहेक होटेलमा रात्रिकालीन ग्राहक निषेध गरिएको छ । घरबाट काम गर्न मिल्ने सबै काम रिमोट सेवामा परिणत गर्नुपर्नेछ । किन्डरगार्डेन र स्कुल सञ्चालन हुनेछन् । पसलभित्र एक ग्राहक बराबर १० मिटर स्वायर दुरीका साथ सञ्चालन रहनुपर्ने छ । नर्सिंग होम पूर्णरुपमा सञ्चालित हुनेछन् ।
४. फ्रान्स
फ्रान्समा पनि कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले गत बिहीबार रातीदेखि पुनः दोस्रो पटक लकडाउन लगाएको छ । मुलुकमा संक्रमितको संख्या बढेपछि १ डिसेम्बरसम्म लकडाउन जारी गरिएको हो । सरकारले यसरी लकडाउनको घोषणा गरेसँगै शहर छोड्ने र शहर फर्कने ब्यक्तिहरुले लकडाउन सुरु हुनुभन्दा केही घण्टा अघि पेरिसमा ७ सय किलोमिटर लामो जाम परेको थियो ।
यहाँ दोस्रो लकडाउन लागू भएको एक हप्ता बित्न लागिसक्दा पनि संक्रमणको संख्यामा भने, कुनै कमी आएको छैन । मुलुकका विभिन्न अस्पतालहरुमा एक हजार भन्दा बढी गम्भिर अवस्थाका बिरामीहरु भर्ना गरिएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले छिट्टै नियन्त्रणमा ल्याउने आशा राखेको छ । लकडाउन र प्रतिबन्धहरुको प्रभाव अर्को दिनहरुमा देख्न सकिने प्रतिबद्धता पनि मन्त्रालयले जनाइरहेका छन् ।
५. पोल्याण्ड
पोल्याण्डमा पनि कोरोना संक्रमणको दोस्रो लहर उच्च देखिएको छ । यहाँ पहिलो चरणको कोरोना लहरले खासै प्रभाव पारेको थिएन । तर, दोस्रो चरणको कोरोना संक्रमणले पोल्याण्डको अवस्था भयावहित रहेको छ ।
पोल्याण्ड सरकारले कोरोना बढेसँगै आफ्ना नागरिकको सुरक्षाको लागि नयाँ नियमहरु लागु गरेको छ । तिब्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण गर्न पोलिश सरकारले अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म विभिन्न क्रियाकलापमा प्रतिबन्धको घोषणा गरेको छ । स्विमिङ पुल, जिमखानाहरु बन्द गरिएको छ भने रेस्टुरेन्टमा ग्राहकले टेक वे सेवा मात्र लिन सक्नेछन् ।
पोल्याण्डको सरकारले ५ जना भन्दा बढी मानिस भेटघाट गर्न प्रतिबन्ध लगाएको छ । साथै ७० बर्ष माथिका मानिसहरु अनिवार्य बाहेक घरबाहिर निस्कन प्रतिबन्ध रहेको छ । सार्वजनिक यातायातमा ५० प्रतिशतमात्र सिटमा यात्रु राख्न पाइने छ । त्यस्तै गरी निम्नमाध्यमिक विद्यालयमा अनलाइन माध्यमबाट पढाइ हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म १६ बर्ष मुनिका बालबालिका अभिभावकको निगरानीमा मात्र आवत–जावत गर्न सक्नेछन् ।
६. स्पेन
युरोपमा संक्रमण दर उच्च रहेको देशमध्ये स्पेन पनि एक हो । स्पेनमा संक्रमण रोक्नको लागि आगामी मे सम्मका लागि लकडाउन गरिएको छ । सार्वजनिक गतिविधिमा पनि सरकारले कडाइ गरेको छ । एक परिवारले अर्को परिवारमा भेटघामा कडाइ गरिएको छ । रातको समयमा कफ्र्यु लगाइएको छ । रातको ११ बजेपछि कामबाहेक हिँड्न रोक लगाइएको छ । बिनाकाम हिँडेको पाइएमा ६ सय युरो जरिवाना तोकिएको छ ।
यस सँगै स्पेनमा सरकारको अगाडी दोहोरो समस्या खडा भएको छ । धेरै मानिसहरु एकपछि अर्को गर्दै सडकमा उत्रिएर यसको विरोध गरिरहेका छन् । सुरक्षाकर्मीहरुले विरोध हटाउन कोशिस गरिरहेका छन् तर, उक्त कोशिस असफल हुँदा विरोध हिंसामा बदलिएको छ । स्पेनमा यस अघि पनि छ महिनाको लागि आपतकालिन राज्य लागू भइसकेको छ । तर, संक्रमणको दोस्रो लहरलाई ध्यानमा राख्दै सरकारले पुनः गत महिना दिएको छुटलाई फिर्ता लिएर लकडाउन घोषणा गरेको हो ।
७. पोर्चुगल
पोर्चुगलमा पनि कोरोना संक्रमणको दर बढ्दो देखिएपछि सरकारले लकडाउनको लागि तयारीहरु गरिरहेको छ । पोर्चुगल सरकारका अनुसार, लकडाउनले संक्रमण रोक्नको लागि सहयोग पुग्ने भएकाले लकडाउन लगाउने तयारीमा जुटेको हो । पोर्चुगलले लगाएको नयाँ नियम मुलुकको ७० प्रतिशत भागमा लागू हुनेछ । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ ।
यहाँको सरकारले विपत्तिको स्थितिमा सतर्कताको बढाउन कडाइ गरेको छ । मध्यरातमा पाँचभन्दा बढी भेला हुन निषेध गरिएको छ । विवाह वा पार्टीमा अधिकतम ५० जना सहभागीमा सीमित गरिएको छ । नियमहरू नमान्ने व्यक्तिलाई १० हजार युरोसम्म जरिवाना तोकिएको छ । सबै नागरिकहरुलाई सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । यसैबीच राष्ट्रपति मार्सेलो रेबेलोले भने, युरोपियन देशहरुमा संक्रमणको दोस्रो छाल अहिलेसम्म कै खतरानाक साबित भइरहेको छ । यस्तै प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने, मुलुकमा केसहरु बढ्दै गएका छन् । हामी सबैले संक्रमणलाई कसरी नियन्त्रणमा ल्याउने भनेर निर्णय गर्नै पर्ने अवस्था आएको छ । अन्यथा अघिल्ला दिनहरु भन्दा खराब हुन सक्ने बताएका छन् ।
८. नेदरल्याण्ड
नेदरल्याण्डमा पनि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । तर, मृतकको संख्या यहाँ पनि घट्दो क्रममा छ । पहिलो चरणको भाइरस संक्रमण हुँदा नेदरल्याण्डमा सबैभन्दा बढी गत अप्रिलमा देखिएको थियो । यसरी नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरि पनि सेमी लकडाउन गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ ।
चार हप्ताका लागि होटल, क्याफे र रेस्तुरेन्टको टेवल बन्द गर्नुपर्ने, तर टेक अवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम छ साथै साझ १० बजेदेखि लागु हुने र त्यसपछि पनि संक्रमण नियन्त्रण नभए पूरै लकडाउन गर्न सकिने यहाँको सरकारले जनाएको छ ।
भाइरस नियन्त्रणमा सबैको दायित्व रहेको भन्दै बाहिर चार जनाभन्दा बढीको समूहमा नहिँड्न, सामाजिक दुरी कायम गर्न र माक्सको प्रयोग गर्न आग्रह गर्दै ३० जनाभन्दा बढीको सहभागितामा कुनै कार्यक्रम नगर्न भनिएको छ । पसलहरु ८ बजेपछि अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको विक्रीवितरण ८ बजेपछि गर्न नपाइनेसमेत नयाँ नियममा उल्लेख गरिएको छ । यो नयाँ नियम चार हप्ताका लागि लागु हुने र परिस्थितिअनुसार नियम परिवर्तन गर्न सकिनेसमेत जानकारी गराइएको छ ।
९. स्वीटजरल्याण्ड
कोरोना भाइरसको दोस्रो लहर बढ्न थालेपछि स्वीस सरकारले २८ अक्टोबरदेखि नयाँ नियमहरु सार्वजनिक गरेको छ । स्वीस सरकारले अनिश्चित समयसम्म डिस्को थेक, डान्स क्लब, डान्स स्टुडियोहरु बन्द गरेको छ । रेस्टुरेन्ट बारहरु रातको ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहनेछन् । रेस्टुरेन्टमा एक टेबलमा बढीमा ४ जना मात्र बस्न पाइनेछ । यदि एउटै परिवार हो भने बढी पनि बस्न पाइनेछ । ५० जनाभन्दा बढिको सार्बजनिक कार्यक्रमहरु निषेध गरिएको छ । जस अन्तर्गत बिबाह, चर्चका कार्यक्रम, दाहसंस्कार लगायत पर्नेछन् । विभिन्न खेलकुद र कल्चरल कार्यक्रमहरु बढीमा १५ जनामा सीमित गरिएको छ । उच्च माध्यामिक तहको पढाइ अनलाइनमार्फत मात्र गर्न पाइने भनिएको छ । स्वीटजरल्याण्डभरि मानिसको धेरै भिडभाड हुने ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
१०. डेनमार्क
डेनमार्कमा पनि संक्रमण दर उच्च रहेको छ । डेनमार्कमा अक्टोबर २९ देखि लागु हुने गरी कडाइ गरेको छ । सार्वजनिकस्थलमा १० जनाभन्दा बढीलाई भेला हुन निषेध गरिएको छ । साथै, १० बजेपछि मदिरा किन्न निषेध गरिएको छ । १० बजेपछि सामान किन्न जाँदा परिवारको एक सदस्यभन्दा बढी जान नपाउने नियम लगाइएको छ । होटल, बार, रेष्टुरेन्टलगायतका सर्भिस क्षेत्रमा १० जनाभन्दा बढीलाई निषेध गरिएको छ । सार्वजनिक स्थानमा र कार्यालयमा मास्क अनिवार्य गरिएको छ । सरकारले जारी गरेको नियम उलङ्घन गरेको पाइएमा २५ हजार डेनिस क्रोनरसम्मको जरिवाना तोकिएको छ ।
११.इटाली
ईटालीमा पनि कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गइरहेको छ । इटालीमा पहिलो चरणको संक्रमणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणा बढी फैलिएको छ । यसैबीच इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिए । उनले मुलुकमा संक्रमणको दोस्रो लहर बढ्दै गइरहेकाले घातक साबित हुन सक्ने समेत उल्लेख गरेका छन् । मास्क नलगाए ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम पनि लागू गरिएको छ ।
१२. रसिया
रसियामा पनि कोरोना भाइरसको दोस्रो छाल खतरनाक रुपमा देखिएको छ । रुसमा गत बिहीबार अहिलेसम्मकै उच्च संक्रमित फेला परेको थियो । यसपछि स्वास्थ्य विभागले देशका सबै अस्पताल र चिकित्सा सेवा केन्द्रहरुलाई सतर्क हुन भनिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, बढ्दो चिसोका कारण संक्रमण धेरै छिटो फैलिने भएकाले यसलाई ध्यानमा राखेर तयारी सुरु गरेका छन् ।





























प्रतिक्रिया