केन्द्रबिन्दु सम्बाददाता ।
बुटवल ७ पुष । बुटवलमा १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव शुरु भएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ बुटवलमा रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवल मण्डपमा १२ दिने महोत्सव शुरु भएको हो । बिहिबार शु्रु भएको औद्योगिक कृषि प्रदर्शनी महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।
प्रदर्शनी उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भएसँगै देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेको बताए । आर्थिक समृद्धि हासिल गर्न देशमा प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन रहेको उल्लेख गर्दै उनले औद्योगीकरण, जलविद्युत, कृषि र पर्यटनको विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए । सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यबाट मात्रै आर्थिक विकास सम्भव रहेको सुझाउँदै उनले विदेशी सामानको व्यापार गरेर रातारात धनी हुने परिपाटी त्यागेर उद्यमशील बन्न आग्रह गरे ।
पूर्व अर्थमन्त्री एवं रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले चुनावपछि सबैको साझा लक्ष्य आर्थिक विकास र समृद्धि भएकाले अबको लडाइँ गरिबीको अन्त्य तर्फ केन्द्रीत हुने उल्लेख गरे ।
उनले बुटवलको मोतपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउँदा रुपन्देही जिल्ला देशकै प्रमुख औद्योगिक केन्द्र बन्ने उल्लेख गर्दै यहाँका उत्पादनहरुको बजारीकरणका लागि बुटवलमा अत्याधुनिक प्रदर्शनी भवनको खाँचो रहेको औंल्याए । पुस १८ गतेसम्म चल्ने प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र २० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।





























प्रतिक्रिया