टेस्ट क्रिकेटमा के-के परिवर्तन भए नियम ?

टेस्ट क्रिकेटमा के-के परिवर्तन भए नियम ?

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टेस्ट क्रिकेटको स्वरूपमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले एक ऐतिहासिक निर्णय गरेको छ।

अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले टेस्ट म्याचका दौरान ‘ब्याड लाइट’ (कम प्रकाश) का कारण खेल रोकिने समस्यालाई अन्त्य गर्न अब खेलको बीचमै रातो बल परिवर्तन गरी गुलाबी (पिंक) बल प्रयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो।

लामो समयदेखि टेस्ट क्रिकेटमा खराब प्रकाश वा अँध्यारोका कारण ओभरहरू कटौती हुने र खेल ड्रमा टुङ्गिने समस्याले प्रशंसक र खेलाडी दुवैलाई निराश बनाउँदै आएको थियो। यो नयाँ नियम अनुसार, यदि कुनै म्याचमा प्रकाश कम भएर खेल रोक्नुपर्ने अवस्था आएमा दुवै टोलीको आपसी सहमतिमा गुलाबी बल प्रयोग गरेर फ्लडलाइट मुनि खेललाई निरन्तरता दिन सकिनेछ। हालसम्म गुलाबी बल केवल डे-नाइट टेस्ट म्याचमा मात्र प्रयोग हुँदै आएको थियो।

आईसीसीले यस प्रक्रियालाई प्रभावकारी बनाउन ‘मेरिलिबोन क्रिकेट क्लब’सँग मिलेर लाइटिङ प्रविधिमा थप अनुसन्धान र विकास गर्ने समेत बताएको छ। यद्यपि, यो नियम आगामी जुन ४ देखि सुरु हुने इङ्गल्याण्ड र न्युजिल्याण्ड बीचको शृङ्खलामा भने लागू भइसक्ने छैन।

आईसीसीले केवल टेस्टमा मात्र नभई सीमित ओभरका खेलहरू (एकदिवसीय र टी-२०) मा पनि ठूलो परिवर्तन ल्याएको छ। अबदेखि खेलको बीचमा हुने ‘ड्रिंक्स ब्रेक’ मा मुख्य प्रशिक्षक वा तोकिएका रणनीतिक कर्मचारीहरू मैदानभित्र प्रवेश गरेर खेलाडीहरूसँग प्रत्यक्ष छलफल गर्न पाउनेछन्। यसअघि केवल पानी बोक्ने खेलाडीमार्फत मात्र सन्देश पठाउन पाइने प्रावधान थियो।

बलिङतर्फ पनि आईसीसीले केही महत्त्वपूर्ण नियमहरूलाई स्थायी रूप दिएको छ। सन् २०२५ देखि परीक्षणको रूपमा रहेको ‘लेग साइड वाइड’ सम्बन्धी नियम अब स्थायी हुने भएको छ। ब्याटरहरू क्रिजमा यताउता सर्दा अम्पायरलाई सही निर्णय लिन मद्दत पुगोस् भनेर अब मैदानमा विशेष ‘गाइड लाइन्स’ को प्रयोग गरिनेछ। यसका साथै, शंकास्पद बलिङ एक्सन भएका बलरहरूको जाँचका लागि म्याच अफिसियलहरूलाई अब सिधै ‘हक-आई’को डाटा उपलब्ध गराइनेछ ।

अन्य निर्णयहरूमा, टी-२० अन्तर्राष्ट्रियमा दुई इनिङ्स बीचको विश्रामलाई १५ मिनेटमा सीमित गरिएको छ भने महिला च्याम्पियन्स ट्रफी २०२७ को समय तालिकामा संशोधन गर्दै त्यसलाई फेब्रुअरी महिनाका लागि सारिएको छ।

Logo