काठमाडौं । एसीसी वुमन्स टी-२० प्रिमियर कप अन्तर्गत समूह चरणको खेलमा नेपालले कतारमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। कतारले प्रस्तुत गरेको ७७ रनको लक्ष्यलाई नेपालले मात्र १०.५ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको जितमा ५५ बल बाँकी नै थियो।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालका लागि ब्याटिङमा ओपनर बिन्दु रावल र पूजा महतोले उत्कृष्ट प्रदर्शन गरे। ओपनर सम्झना खड्का व्यक्तिगत ३ रनमा आउट भएपछि सम्हालिएर खेलेकी बिन्दु रावलले ३० बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३३ रनको योगदान दिइन्। उनी खादिजा इम्तियाजको बलमा एलबीडब्लु धरापमा परेकी थिइन्।
त्यस्तै, अर्की ब्याटर पूजा महतो २६ बलमा ४ चौका प्रहार गर्दै २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्माले ५ बलमा १ चौकासहित ६ रन जोड्दै टोलीलाई जितको रेखा पार गराइन्। नेपालले अतिरिक्त १० रन समेत प्राप्त गरेको थियो।
बलिङतर्फ कतारका लागि शाहरिनावाब खान र खादिजा इम्तियाजले समान १-१ विकेट लिए पनि अन्य बलरहरू नेपाली ब्याटरसामु निरीह देखिए।
यसअघि कतारले निर्धारित १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सकेको थियो।





























प्रतिक्रिया