काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आजभन्दा दुई दशकअघि वि.सं. २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रधानमन्त्रीले यो सन्देश जारी गरेका हुन् ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा मुलुकको विकासका लागि दलित समुदायले सदियौँदेखि सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च सम्मान प्रकट गरेका छन् । उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै जातीय भेदभाव र छुवाछूतलाई कानुनबमोजिम दण्डनीय अपराधको रूपमा परिभाषित गरिएको स्मरण गराए ।
सन्देशमा भनिएको छ, “जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी उन्मूलनका लागि समाजको सोच, व्यवहार र संस्कारमा सकारात्मक रूपान्तरण आवश्यक छ”। प्रधानमन्त्रीले समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्न सबै नागरिकलाई आग्रह गरेका छन् ।
नेपाल सरकारले समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि छुवाछूत विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै प्रधानमन्त्रीले दलित समुदायको परम्परागत सीपको संरक्षण, आयआर्जन वृद्धि र प्रविधि स्तरोन्नतिलाई प्राथमिकतामा राखेको बताए ।





























प्रतिक्रिया