करोड बढीका मोबाइल नष्ट प्रकरणमा शिक्षामन्त्री पोखरेलले भने- हाम्रो संलग्नता छैन

करोड बढीका मोबाइल नष्ट प्रकरणमा शिक्षामन्त्री पोखरेलले भने- हाम्रो संलग्नता छैन

केन्द्रबिन्दु
186
Shares

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय सिरहाले परीक्षामा बरामद भएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल र स्मार्टवाचहरू नष्ट गरेको छ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन्। सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिका विपरीत परीक्षा हलभित्र मोबाइल प्रयोग भएको ठहर गर्दै समन्वय समितिले ती उपकरणहरू नष्ट गर्ने निर्णय गरेको हो। तर केन्द्र सरकारकाे नाममा अफवाह फैलिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले खण्डन गरेका छन् ।

मन्त्री पोखरेलले यो कार्यमा केन्द्रको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै खण्डन गरेका छन् । उनले एक सञ्चारमाध्यमकाे पेजमा कमेन्ट गरेका छन्, “हामीबाट यस्तो निर्देशन भएको छैन। प्रदेशबाट भएको भए प्रदेश शिक्षा मन्त्रीको निर्देशन भनेर खुलाउनु होला।”

उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गठन गरिएको थियो।

जफत गरिएका सामग्रीहरू प्राविधिक रूपमा पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र नष्ट गरिएको छ। प्रहरीले अधिकांश मोबाइल फोनहरू पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरेको हो। ‘वाटरप्रुफ’ सेटहरूलाई भने पहिले फुटाएर मात्र पानीमा हालिएको प्रहरीले जनाएको छ।

Logo