भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, विद्युतीय र ऊर्जा क्षेत्रका नवीनतम प्रविधि एकै थलोमा

भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, विद्युतीय र ऊर्जा क्षेत्रका नवीनतम प्रविधि एकै थलोमा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन्।

जेठ २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालका अनुसार प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै मञ्चमा ल्याएर प्रविधि, ज्ञान र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने अवसर प्रदान गरेको छ।

प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम प्रविधि, औद्योगिक स्वचालन, एलईडी, सौर्य ऊर्जा, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार लगायतका नवीनतम प्रविधि र उपकरणहरू प्रदर्शनमा राखिएका छन्।

कार्यक्रमका विशेष अतिथि समेत रहेका अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन्। उनले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको जानकारी दिदै नेपाल विद्युतीय व्यवसायी महासंघलाई सफलताको लागि शुभकामना पनि दिए ।

मेला संयोजक गोपाल अग्रवालले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेकाले त्यससँग सम्बन्धित प्रविधि, सामग्री र सेवाबारे जानकारी आदान–प्रदान गर्न प्रदर्शनी प्रभावकारी मञ्च बन्ने बताएका छन् ।

प्रदर्शनीमा ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्ड सहभागी छन्।

आयोजकका अनुसार प्रदर्शनी अवधिभर अन्तरक्रिया, उत्पादन प्रदर्शन, व्यवसायिक भेटघाट तथा प्रविधिसम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सञ्चालन गरिनेछ। प्रदर्शनीमा करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क भए पनि आगन्तुकले क्यूआर कोड वा डिजिटल लिंकमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

Logo