काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेल जुन ११ मा सहआयोजक राष्ट्र मेक्सिकोमा हुनेछ । समूह ‘ए’मा रहेको मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । यही समूहमा चेक गणतन्त्र (चेकिया) र दक्षिण कोरिया पनि छन् ।
समूहका अधिकांश खेल मेक्सिकोमा हुनेछन् । समूह ‘ए’का दुई खेल मेक्सिको सिटीमा हुनेछ । ग्वाडालाजारा र मोन्टेरीमा एक/एक खेल हुने तालिका छ । मेक्सिकोबाहिर यो समूहको एउटा मात्र खेल हुनेछ । त्यो जुन १८ मा चेकिया र दक्षिण अफ्रिकाबीचको खेल हो । र, एट्लान्टामा हुने तय छ ।
मेक्सिकोका तीनमध्ये दुई खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुनेछ । यो त्यही रंगशाला हो, जसमा सन् १९७० र १९८६ को विश्वकपमा फाइनल खेल आयोजना गरिएको थियो ।
चार दशकपछि पहिलोपटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो । त्यो निराशा बिर्संदै टोली सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ । मेक्सिको यसअघि सन् १९७० र १९८६ मा आफैँले विश्वकप आयोजना गर्दा मात्र अन्तिम आठमा पुगेको छ । मेक्सिकोको अहिलेको योजना कम्तीमा पुरानो इतिहास दोहोर्याउने हुनेछ ।
मेक्सिकोको लक्ष्यमा धेरै आशा १७ वर्षे गिल्बर्टो मोरामाथि टिकेको छ । मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबभन्दा कम उमेरको खेलाडीका रूपमा गत वर्ष मोराले १६ वर्षमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए ।
दक्षिण अफ्रिकाले सन् २०१० मा आफैँले विश्वकप आयोजना गरेको थियो । त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यसपालि पहिलोपटक हो । १६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्धतापूर्ण जित निकाले पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेको थिएन । विश्वकप इतिहासमा त्यति बेला दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक बनेको थियो । पछि कतारले पनि यसमा नाम लेखायो ।
दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रुसले नेतृत्व गरिरहेका छन् । सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रुसले अधिकांश स्थानीय क्लबका खेलाडीहरूबाट विश्वकपको टिम तयार गरेका छन् ।
विश्वकप इतिहासमा सबभन्दा सफल एसियाली राष्ट्र हो, दक्षिण कोरिया । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यसपालि दक्षिण कोरियाको १२औँ सहभागिता हो । सन् २००२ मा जापानसँग मिलेर आफैँले प्रतियोगिता आयोजना गर्दा सेमिफाइनल पुग्नु विश्वकपमा दक्षिण कोरियाको हालसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो ।
विश्वकप २०२६ का निम्ति एसियाली छनोट प्रतियोगितामा अपराजित हुँदै उत्तर अमेरिकाको टिकट काट्न सफल भए पनि यसको अभ्यास खेलहरूमा टिमको प्रदर्शन सोचेजस्तो रहन सकेको छैन । गत महिनाका अभ्यास खेलमा टोलीले आइभोरी कोस्टलाई ४–० र अस्ट्रियालाई १–० को नतिजा सुम्पिएको थियो ।
टोलीका सबभन्दा ठूला स्टार तथा कप्तान टोटनहमका पूर्वस्ट्राइकर सन ह्युङ मिन हुन् । सन अहिले अमेरिकी मेजर लिग सकरको टोली लस एन्जल्स एफसीबाट खेलिरहेका छन् । टिममा उपलब्ध अरू स्टार नाम भनेको पेरिस सेन्ट जर्मनका मिडफिल्डर ली काङ इन र बायर्न म्युनिखका रक्षक किम मिन जाइ हुन् ।
प्रशिक्षकका रूपमा टिमको नेतृत्व सन् २०२४ देखि निरन्तर होङ म्युङ बोले गरिरहेका छन् । दक्षिण कोरियाली राष्ट्रिय टिममा उनको यो दोस्रो कार्यकाल हो । सन् २००२ मा घरेलु भूमिमा टोली सेमिफाइनलमा पुग्दा उनी दक्षिण कोरियाका कप्तान थिए ।
चेक गणतन्त्रले सन् २००६ पछि पहिलोपटक विश्वकपमा स्थान बनाउनका निम्ति युरोपियन प्लेअफमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै डेनमार्कलाई हराउनुपरेको थियो ।
टिमलाई विश्वकपसम्म डोर्याउने अभियानमा सहयोग गर्न ३५ वर्षे पूर्वकप्तान भ्यादिमिर डारिया सन्न्यास फिर्ता लिएर मैदानमा फर्किएका थिए । युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट चेक गणतन्त्र पराजित भएपछि डारियाले सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।
चेक गणतन्त्रको टिम ७४ वर्षे भेट्रान प्रशिक्षक मिरोस्लाभ कौबेकको नेतृत्वमा विश्वकप खेल्दै छ । गत वर्ष विश्वकप छनोटको खेलमा निकै कमजोर आँकिएको फारो आइल्यान्डसँग २–१ को नतिजामा स्तब्ध भएपछि इभान हासेकलाई स्थानान्तरण गर्दै कौबेकले टिमको नेतृत्व लिएका थिए ।





























प्रतिक्रिया