काठमाडौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तरराष्ट्रिय प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् ।
इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली उत्कृष्ट ३० भित्र पर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीननम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय पुरस्कार जितेका हुन् ।
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी आठ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई सो प्रतियोगितमा समावेश गराएको थियो । यसै सन्दर्भमा नीमा एजुकेसन फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई आइतबार सम्मान तथा पुरस्कृत गरेको छ ।
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका आइटी विभाग प्रमुख प्रा डा सुदन झाले नेपाली परिवेशमा ३० वर्षअघिको कम्प्युटर शिक्षाजस्तै अहिले सूचना प्रविधि क्षेत्रअन्तर्गत एआई, रोबास्टिक र कोडिङले बजार लिएको बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् । जनशक्ति नेपालमा उत्पादन भएकामा गर्व गर्दै प्रा डा झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आइटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान र निर्देशक किरणकुमार श्रेष्ठले विद्यालय तथा कलेजहरूसँग समेत समन्वय गरी सूचना प्रविधिसँग सम्बन्धित सीप तथा शिक्षा प्रदान दक्ष जनशक्ति उत्पादन गरिहेको जानकारी दिए । हरेक वर्ष विद्यालयहरूसँगको सहयोग र सहकार्यमा अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि फाउन्डेसनले आवश्यक शैक्षिक गतिविधिसहित तालिम प्रदान गर्दै आएको बताउँदै उहाँले यस किसिमको सिकाइ र प्रतियोगिताबाट नेपाली विद्यार्थी लाभान्वित भई समग्र आइटी क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।
फाउन्डेसनले अर्को वर्ष हुने अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको स्थान अझ राम्रो बनाउन आगामी महिनादेखि नै चरणबद्ध रूपमा सिर्जनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आयोजकका अनुसार जाकार्तामा सम्पन्न अन्तरराष्ट्रिय प्रतियोगितामा विश्वका करिब एक हजार ५०० विद्यार्थीको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया