शिवपुरीको ‘क्लासिक भ्यू रिसोर्ट’अब ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’नामबाट सञ्चालन

शिवपुरीको ‘क्लासिक भ्यू रिसोर्ट’अब ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’नामबाट सञ्चालन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो ।

होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौं उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उनले भने, “नेपालको एकमात्र स्वदेशी अन्तरराष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ ।

अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडौं उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौंमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ ।

निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौँ उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ ।

Logo