गौर ,पुस,२
रौतहटका चार निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका दुई सय जनाको जमानत जफत भएको छ। रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहको जमानत जफत भएको छ। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद बनेका साहले ३३८ मत मात्रै पाएका छन्। पूर्वसभासद बबन सिंहको पनि जमानत जफत भएको छ। सिंहले ०६४ को संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। यो निर्वाचनमा १ नं क्षेत्रबाट उम्मेदवार बनेका सिंहले १ हजार ६६९ मत मात्रै पाए।
रौतहटका १९८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारको जमानत जफत भएको हो। रौतहटको चारवटा प्रतिनिधि सभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुई सय ३५ जनाको उम्मेदवारी परेको थियो। एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। प्रतिनिधि सभाका चारवटै निर्वाचन क्षेत्रका ८० जना उम्मेदवारको जमानत जफत भएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया