इरान र वासिङ्टनबीच सम्झौताका लागि समझदारी नबनेको इरानको दाबी

इरान र वासिङ्टनबीच सम्झौताका लागि समझदारी नबनेको इरानको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वासिङ्टनसँगको समझदारीपत्रमा आइतबार जेनेभामा हस्ताक्षर हुने भन्ने अमेरिकी दाबीलाई इरानले खण्डन गरेको छ । फार्सले इरानी वार्ता टोलीसँग निकट एक जानकार स्रोतलाई उद्धृत गर्दै लेखेको छ, दावी ‘पूर्ण रूपमा असत्य’ हो ।

स्रोतले भन्यो, “इरानले समीक्षा र निर्णय लिने प्रक्रियालाई अझै अन्तिम रूप दिइएको छैन ।” यसअघि, अमेरिकी समाचार संस्था ब्लुमबर्गले इरान युद्ध अन्त्यका लागि सम्झौताका लागि भएको प्रयासले सार्थकता पाएको बताइएको थियो ।

अमेरिकी वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले शुक्रबार रिपोर्ट गरेको छ,“संयुक्त राज्य अमेरिका र इरान ‘स्ट्रेट अफ हर्मुज पुनः खोल्न’ समझदारी पत्रमा हस्ताक्षर गर्न सहमति नजिक पुगेका छन्, हस्ताक्षर समारोह सम्भवतः आइतबार जेनेभामा हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार संयुक्तराज्य अमेरिकाले इरानसँगको युद्धको समाधान निकालेको बताउनुभएको थियो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बिहीबार सरकारी टेलिभिजनसँग कुरा गर्दै समझदारीपत्रको अधिकांश भागलाई लगभग अन्तिम रूप दिइसकेको तर अमेरिकी ‘विरोधाभासी’ अडानले कूटनीतिक प्रक्रियामा सधैं अवरोध सिर्जना गरेको बताउनुभएको थियो ।

इरान, अमेरिका र इजरायलबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । इरान र संयुक्त राज्य अमेरिकाले पछिल्ला हप्ताहरूमा पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन् ।

इरानी वार्ता टोलीका सदस्य तथा विदेशमन्त्री अब्बास अराघचीले पनि मध्यपूर्वमा युद्ध अन्त्यका लागि पाकिस्तानी मध्यस्थतामा छलफल भएको तर अहिलेसम्म सम्झौताका लागि सहमतिको नजिक नपुगेको बताए ।

अमेरिका–इरान वार्ता आयोजना गरिरहेको पाकिस्तानी राजधानीलाई सङ्केत गर्दै अराघचीले एक्समा लेखेका छन “इस्लामावादको मध्यस्थतामा भएको समझदारीपत्र कहिल्यै युद्ध अन्त्यका लागि नजिक पुगेको छैन ।”

केही इरानी सञ्चारमाध्यमले सम्झौताको विवरण प्रकाशित गरेपछि उहाँले भन्नु्भयो, “यसलाई अन्तिम रूप नदिएसम्म मिडियाले यस सामग्रीको बारेमा अनुमानमा प्रवेश गर्नु गलत हुनेछ ।”

Logo