काठमाडौं । कांग्रेस संस्थापन पक्षसँग चाँडै सहमति नभए सातै प्रदेशमा भेला सम्पन्न गराउने र काठमाडौंमा राष्ट्रिय भेला राखेर छुट्टै महाधिवेशन गर्ने इतर पक्षीय नेताहरू बताएका छन् । इतर पक्षका नेता विमलेन्द्र निधिले जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने बताए।
‘अहिलेसम्म हाम्रो कुरा १५ औँ महाधिवेशन साझा गरौँ भन्ने हो। त्यो भएन भने हामी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको छुट्टै तयारी गर्छौँ,’ उनले भने।
इतरपक्षको यो भनाईले नेपाली कांग्रेसमा सहमतिको प्रयासमा ‘ब्रेक’ लागेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूह जेठ ३१ मा हुने प्रदेशस्तरीय भेलामा एउटै मञ्चमा देखिने भएको छ। कोइरालाको आह्वानमा हुने संस्थापन इतर पक्षको कोसी प्रदेश भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने नेता केदार कार्कीले बताए।
उनका अनुसार विराटनगरको मनास्लु होटलमा हुने भेलाको प्रमुख अतिथि कोइराला बन्नेछन् भन् नेताहरू विजयकुमार गच्छदार डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, एनपी साउद, डा मिनेन्द्र रिजाल र राजीव कोइराला प्रमुख वक्ता छन्।
देउवा समूहले यसअघि बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ। आज जेठ ३० गते मधेस प्रदेश स्तरीय भेला हुँदैछ। नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा हुने भेलाको संयोजन आनन्द ढुंगानाले गरेका छन्।
मधेसमा बारा वा महोत्तरीका जिल्ला सभापतिमध्ये एकको सभापतित्वमा प्रदेश स्तरीय भेलामा संस्थापन इतर पक्षीय नेता कार्यकर्ता उपस्थित हुने नेताहरू बताउँछन्। भेलामा उमाकान्त चौधरी, पद्मनारायण चौधरी, आनन्द ढुंगाना लगायत मधेस प्रदेशका ८ वटै जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहने निधिले बताए।
उनले भने, ‘प्रदेशस्तरीय भेला सकिएपछि राष्ट्रिय भेला गर्छौँ। त्यही भेलाबाट १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा हुन्छ। नयाँ ढंगले अगाडि बढ्छौँ।’ खड्काले पनि आफू निकट नेताहरूसँग संस्थापन पक्षसँग सहमति हुन नसके १५ औँ महाधिवेशनका लागि फाइनल गरिएको ९ लाख १३ हजार क्रियाशील सदस्यबाटै फरक ढंगले अगाडि बढ्ने बताउँदै आएका छन्।
प्रदेश भेलामा एक ठाउँमा देखिएका देउवा र कोइराला समूहमा छुट्टै महाधिवेशनसम्मको तयारीमा भने एक मत छैन। कोइराला पक्षीय नेता बद्री पाण्डेले आफूहरू सहमतिकै प्रयासमा रहेको भन्दै छुट्टै महाधिवेशनसम्म जान नसकिने बताए।
यता संस्थापन पक्षका नेताहरू भने सहमतिका लागि संवाद भइरहेको भन्दै कांग्रेसमा दुई वटा महाधिवेशन हुने अवस्था नआउने बताउँछन्। ‘नेताहरूबीच संवाद भइरहेको छ। हल्लाखल्ला नभएको मात्र हो। प्रत्येक दिन सहमतिको प्रयास भइरहेको छ,’ सहमहामन्त्री योगेन्द्र चौधरीले भने, ‘पार्टीभित्र छिट्टै सहमति हुन्छ। छुट्टै महाधिवेशन हुने अवस्था आउँदैन।’
संस्थापन र इतर पक्षबिच पछिल्लो एक सातायता संवाद ठप्प छ। गत शुक्रबार उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति खड्काबिच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबुल गरेर खड्का र शर्माबिच सहमतिको खोजी भएको थियो।
विशेष महाधिवेशनमा टेकेर २ जना (पूर्णबहादुर खड्का र शेखर कोइराला)लाई वरिष्ठ नेता र केही केन्द्रीय सदस्य बनाउने थापाको प्रस्ताव छ। १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएकाहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति सदस्यमा मनोनीत गरिने अर्को प्रस्ताव छ।
यस्तै, आपसी सहमति (इतर पक्षको सिफारिस)मा निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान संशोधन समितिमा सदस्य थप्न सकिने थापाको प्रस्ताव छ।





























प्रतिक्रिया