जर्मनी भर्सेस कुराकाओ, जर्मनीसँग जित बाहेक विकल्प छैन

जर्मनी भर्सेस कुराकाओ, जर्मनीसँग जित बाहेक विकल्प छैन

केन्द्रबिन्दु
6
Shares

बोस्टन । जर्मनीले विश्वकप २०२६ को पहिलो खेलमा कुराकाओसँग भिड्नेछ, जहाँ जित बाहेक अन्य विकल्प छैन । पछिल्ला दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको जर्मनी यसपटक प्रतिष्ठा फर्काउने लक्ष्यमा छ, भने कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो।

चारपल्टको विश्वकप विजेता जर्मनी अहिले आफ्नो पुरानो प्रतिष्ठा फर्काउने योजनामा रहनेछ, किनभने यसअघिका दुई संस्करणमा यो टिम लगातार पहिलो चरणबाटै बाहिरिएको थियो । जर्मनीले सन् २०१४ मा अन्तिम पटक विश्वकप जितेको हो ।

यस्तोमा जर्मनीसामु पाँचौंपल्ट विश्वकप जित्ने अवसर हुनेछ । भलै, जर्मनी आफैंले आफूलाई उपाधिको दाबेदार मान्न सक्ने स्थिति छैन । यस्तोमा यसपल्टको प्रतियोगिताको सुरुमै कुराकाओको सामना गर्नु टोलीलाई सजिलो विकल्प बनेको छ । कुराकाओ त्यही टिम हो, जुन विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । समूह ‘ई’ मा इक्वडेर र आइभरी कोस्ट पनि छन् । त्यसैले पनि जर्मनीलाई कुराकाओविरुद्ध जित नै आवश्यक हुनेछ ।

प्रशिक्षक जुलियन नागेल्समनको जर्मनी अहिले एक प्रकारको लयमा छ । किनभने टोलीले आफ्नो पछिल्ला ९ खेलमा कुनै हार बेहोरेको छैन । विश्वकप सुरु हुनु अघि खेलेका दुई मैत्रीपूर्ण खेलमा जर्मनीले फिनल्यान्डलाई ४–० र सह–आयोजक अमेरिकालाई २–१ ले हराएको थियो ।

कुराकाओ आफैंमा विश्व फुटबलका लागि नयाँ रहेको छ । टोलीका अधिकांस खेलाडी नेदरल्यान्ड्स वा युरोपको तल्लो डिभिजनका लिगमा खेल्ने गर्छन् । तर कुराकाओका भेट्रान प्रशिक्षक डिक एडभोकेट जर्मनीविरुद्धको खेललाई लिएर उत्साही छन् । उनी ७८ वर्षको भइसके र अब विश्वकपका सबैभन्दा पाका प्रशिक्षकको कीर्तिमान राख्ने क्रममा छन् । उनी भन्छन्, ‘पक्कै पनि यो समूहमा जर्मनी सबैभन्दा बलियो टिम हो । अझै पनि जर्मनी फुटबलको महाशक्ति देश हो । यत्तिको टिमविरुद्ध सुरुमै खेल्न पाउनु हाम्रो लागि सौभाग्य हो । यो खेलले हामी वास्तवमै कहाँ छौं भनेर प्रस्ट हुनेछ ।’

जर्मन राष्ट्रिय टिमका निर्देशक तथा सन् १९९० को विश्वकप च्याम्पियन टिमका सदस्य रुडि भोलर भन्छन्, ‘पछिल्ला दुई मैत्रीपूर्ण खेलमा प्राप्त जितले हामीलाई उत्साहित बनाएको छ । हामी यही लय कायम राख्न चाहन्छौं । फेरि पहिलो खेल जित्दैमा हामी नकआउट चरण पुग्नेछौं भन्ने पनि हुन्न । हामीलाई आफ्नो समूह जित्नु नै छ । यो नै एकमात्र उद्देश्य हो । यो विषयमा टिमभित्र धेरै कुराकानी भएको छैन, तर यो नै एकमात्र विकल्प हो ।’

Logo