मधेशीको मतले जितेका पहाडी र पहाडीको मतले जितेका मधेशी अनुहार

मधेशीको मतले जितेका पहाडी र पहाडीको मतले जितेका मधेशी अनुहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । 

मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् । मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ । 

यही मंसिर २१ गते भएको निर्वाचनमा मोरङ क्षेत्र नं १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, २ मा नेपाली काँग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् । 

भित्री मधेश मानिने सिरहा क्षेत्र नं ३ मा एमालेका लीलानाथ श्रेष्ठले मधेशी जनाधिकार फोरमका अशेश्वर यादवलाई र सिरहा १ मा काँग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गरे । महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र सोही जिल्लाका क्षेत्र नं २ मा राजपाका शरत्सिंह भण्डारीले काँग्रेसका किरण यादवलाई पराजित गरेको अर्काे रोचक उदाहरण पनि छ । सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुन । 

विगतमा मधेश आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा विजय हासिल गरे । प्रदेश २ कै अर्काे जिल्ला रौतहट २ मा काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी भए । राजपा र फोरमको तालमेलका कारण तराई मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, काँग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् । 

विश्लेषक डा राजेश अहिराजले मधेशी जनताले मूलत: संविधान संशोधनका पक्षमा मत जाहेर गरेको छ तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नं २ का कूल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउछन् । एमालेलाई मधेशविरोधी चित्रण गर्न खोजिए पनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेशी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ । 

मधेशी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई मधेशमा मधेश आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति समूहका नेतालाई बढी विजयी गराइएको पाइए पनि मधेश आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउनुहुन्छ । “कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन जनताका बीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ”, सिहंको भनाइ छ । रासस

Skip This
Skip This
Logo