तीन लाखले दिए सवारी चालक अनुमति पत्रको आवेदन

तीन लाखले दिए सवारी चालक अनुमति पत्रको आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेकाे अब आगामी असारपछि मात्र पालो पाउने भएकाे छ । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवदेन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

‘अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, मे-जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ उनले भने । कोरोनाका कारण १० महिना नयाँ लाइसेन्स प्रक्रिया सबै बन्द हुँदा अब भने लाइसेन्स प्रक्रियामा सहभागी हुन सर्वसाधारणले लामो समय कुर्नुपर्ने भएको हो ।

यातायात कार्यालयले देशैभर करिब ७-८ लाख जनाले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने अनुमान गरेका छन् । हाल विभाग संघ अर्थात् केन्द्र सरकार मातहत रहेको छ भने यातायात कार्यालय प्रदेश सरकार अन्तर्गत रहेका छन् । लाइसेन्सका लागि परीक्षा तथा ट्रायल लगायतका काम यातायात कार्यालयहरूले गर्ने गरेका छन् । विभागको जिम्मामा लाइसेन्स खुला गर्ने तथा छाप्नेलगायत काम छन् ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ । लाइसेन्स प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुने गरेको छ । लाइसेन्सका लागि आवेदन खुला भएसँगै यातायात कार्यालयमा भीडभाड बढेको छ । काठमाडौं, बुटवल, वीरगन्ज लगायतका प्रमुख सहरमा अत्यधिक भीड बढेको छ ।

विभागले गत १४ पुसदेखि लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको थियो । पछिल्लो पटक लाइसेन्सका लागि भरिने अनलाइन फारामको कोटा प्रणाली हटाइएको छ ।राजधानीबाट

Logo