केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर ।
सिराहाको लहानमा शक्तिशाली बम विस्फोट भएको छ । बम विष्फोट हुँदा एक जना ब्यक्ति गम्भीर घाइते भएका छन् । लहान नगरपालिका–१ स्थित सहिद चोकमा आज दिउँसो भएको विस्फोटमा परी सप्तरीको बनरझुला निवासी प्रमेश्वर चौधरी गम्भीर घाइते भएका हुन् ।
करिब १२ः४५ बजेतिर सहिद चोकस्थित रहेको एक साइकल स्टोर अगाडि एक अपरिचित व्यक्ति थोत्रो साइकल छाडेर गएको केही समय बित्तिकै ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । साइकलको सिट मुनी राखिएको बम विस्फोट हँुदा से.२ प.७४८० नम्बरको मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका हुन् ।
चौधरीको हात र पिठ्यँुमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गम्भीर घाइते चौधरीको उपचार लहान अस्पतालमा भइरहेको चौधरीको परिवारिक स्रोतले जनाएको छ ।
बम कसले किन पड्काएको हो भन्ने सम्बन्धमा हालसम्म कसैले जिम्मा लिएको छैन । बम विस्फोटले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यातायात केही बेर अवरुद्ध भएको थियो । घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ ।































प्रतिक्रिया