‘शिक्षामा निजी क्षेत्रको लगानी’मा केन्द्रबिन्दुको विशेष विमर्श- यस्ता छन् मुख्य वक्ता र प्यानलिस्ट

‘शिक्षामा निजी क्षेत्रको लगानी’मा केन्द्रबिन्दुको विशेष विमर्श- यस्ता छन् मुख्य वक्ता र प्यानलिस्ट

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा एक विशेष समारोहका बीच ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आयोजना हुँदैछ । शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै अब्बल साबित भएका देशभरका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा प्रायोजित यस गरिमामय कार्यक्रममा अवार्ड वितरण हुनुअघि शिक्षा क्षेत्रको वर्तमान अवस्था, यसका चुनौतीहरू र आगामी दिशाबारे गहन विमर्श समेत गरिनेछ ।

पहिलाे प्यानल डिस्कसन- ‘शिक्षामा निजी क्षेत्रको लगानी’

कार्यक्रमको पहिलो प्यानल छलफल ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित रहनेछ । यस सत्रको सुरुवात मुख्य वक्ताद्वय राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष एवं काठमाडौँ विश्वविद्यालय सम्बद्ध महाश्रम शर्मा तथा पूर्वराज्यमन्त्री, हिसान र प्याब्सनका पूर्वअध्यक्ष एवं लिटल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष उमेश श्रेष्ठको विशेष मन्तव्यबाट हुनेछ ।

त्यसपछिको मुख्य प्यानल छलफलमा शिक्षा मन्त्रालयको योजना तथा अनुगमन शाखाका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा, हिसानका अध्यक्ष एवं हिमालयन ह्वाइट हाउस सेकेन्डरी स्कूलका निर्देशक युवराज शर्मा, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा निर्देशक डा. आशिष तिवारी प्यानलिस्टका रूपमा सहभागी हुनेछन् ।

सरकारी नीति, निजी क्षेत्रको नेतृत्व, वित्तीय व्यवस्थापन र व्यवस्थापकीय पाटोलाई समेटेर गरिने यस बहसको सहजीकरण अधिवक्ता एवं इन्जिनियर उमेश रूपाखेतीले गर्नेछन् ।

अवार्ड कार्यक्रमले उत्कृष्ट शैक्षिक संस्थाहरूलाई प्रोत्साहित गर्नुका साथै बहस सत्रले नेपालको शिक्षा क्षेत्रलाई नयाँ दिशा दिन मार्गप्रशस्त गर्ने आयोजकले विश्वास लिएको छ ।

Logo