किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव, बिरामीलाई सास्ती

किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव, बिरामीलाई सास्ती

केन्द्रबिन्दु
3
Shares

चितवन । क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव भएपछि बिरामी र उनीहरूका परिवार थप सास्तीमा परेका छन्। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी उपचारभन्दा बढी औषधिको खोजीमा भौतारिन बाध्य छन्।

चिकित्सकहरूका अनुसार औषधि अभावको मुख्य कारण उत्पादनमा प्रयोग हुने सक्रिय कच्चा पदार्थ (एपीआई) को विश्वव्यापी अभाव, त्यसको मूल्यवृद्धि तथा इन्धन महँगिँदा उत्पादन र ढुवानी लागत बढ्नु हो। तर लागतअनुसार नेपालमा बिक्री मूल्य समायोजन हुन नसक्दा आयातकर्ताले पर्याप्त मात्रामा औषधि ल्याउन नसकेको उनीहरूको भनाइ छ।

औषधि व्यवस्था विभागले देशभरका ११ स्वास्थ्य संस्था तथा मेडिकलमार्फत अभाव भएका औषधि उपलब्ध गराउने व्यवस्था गरे पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। चितवनका लागि भरतपुरको राज ड्रग प्रालिलाई जिम्मेवारी दिइएको छ। त्यहाँ कार्बोप्लाटिन उपलब्ध भए पनि मागको तुलनामा निकै कम रहेको प्रालिका सञ्चालक राजीव थापाले बताए।

माडी नगरपालिका–३ धोवाहाका एकला महतो बुहारी मनिषाको उपचारका लागि भरतपुर आए । गएको माघदेखि किमोथेरापी सुरु गरेकी २४ वर्षीया मनिषाको ११औँ चरणको उपचारका लागि आवश्यक औषधि नपाएपछि उनीहरू विभिन्न ठाउँ धाउन बाध्य भए। ‘सोमबार नै आएँ, तर औषधि पाइएन। धेरै ठाउँ खोजेपछि बल्ल जुटाएर उपचार गर्न पाएँ। अर्को पटक पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लागिरहेको छ,’ एकलाले भने।

महोत्तरीको रामगोपालपुरकी पुनम मण्डलले पनि आमा रिङ्कुकुमारीको उपचारका क्रममा औषधि अभावका कारण चार दिनसम्म भरतपुरमा बस्नुपरेको बताइन्। ‘दोस्रो चरणमै एउटा औषधि पाइएन। अहिले पनि धेरै खोजेपछि मात्र भेटियो,’ उनले भनिन्।

पर्साको छिपहरमाई गाउँपालिका–२ का ओमप्रकाश कुमारले चौथो पटकको किमोथेरापीका लागि तीन दिनसम्म औषधि खोज्नुपरेको सुनाए। ‘रोगसँग लड्नुपरेको छ, औषधि पाउन झन् ठूलो संघर्ष गर्नुपरेको छ,’ उनले भने।

देशकै प्रमुख क्यान्सर उपचार केन्द्र मानिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशभरका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी आउने गर्छन्। तर पछिल्लो एक महिनादेखि कार्बोप्लाटिन र सिसप्लाटिनको अभावले उपचार व्यवस्थापन नै प्रभावित भएको चिकित्सकहरू बताउँछन्।

मेडिकल अन्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाहका अनुसार किमोथेरापी गर्ने १० बिरामीमध्ये सातदेखि आठ जनासम्मलाई यी दुई औषधि आवश्यक पर्छ। अस्पतालमा हरेक साता करिब चार सय जनाले किमोथेरापी गराउने गरे पनि अहिले उपलब्ध औषधिले आधा बिरामीलाई मात्रै पुग्ने अवस्था छ। ‘सरकारले केही अस्थायी व्यवस्था गरेको छ। तर बजारमा मागको आधाजति मात्रै औषधि उपलब्ध छ। एक हिसाबले कार्बोप्लाटिन र सिसप्लाटिनको हाहाकार नै भएको छ,’ डा. शाहले भने।

उनका अनुसार केही बिरामीले अनधिकृत रूपमा भित्रिएका औषधिसमेत किन्न बाध्य भएको सूचना आउने गरेको छ। ‘किमोथेरापीका औषधि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सुरक्षित राख्नुपर्छ। झोलामा बोकेर ल्याइएका औषधिको गुणस्तरमा जोखिम हुन सक्छ,’ उनले भने। राज ड्रग प्रालिका सञ्चालक राजीव थापाका अनुसार बुधबार ४५० मिलिग्रामका २० वटा र १५० मिलिग्रामका २० वटा कार्बोप्लाटिन प्राप्त भएको थियो। ‘४५० मिलिग्रामका सबै सकिए। दिनमै कम्तीमा ४० वटा माग हुन्छ,’ उनले भने।

डा. शाहका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिन उत्पादनमा प्रयोग हुने एपीआईको अभाव र मूल्यवृद्धिका कारण विश्वभर उत्पादन प्रभावित भएको छ। इन्धन महँगिएपछि ढुवानी र उत्पादन लागतसमेत बढेको छ। तर सोहीअनुसार नेपालमा बिक्री मूल्य समायोजन नहुँदा आयातकर्ताले पर्याप्त परिमाणमा औषधि ल्याउन नसकेको उनले बताए। ‘पहिलेदेखि नै यसको अभाव हुने संकेत थियो। यो यस्तो औषधि हो, जसको प्रभावकारी विकल्प छैन। विकल्प खोज्दा बिरामीको उपचार नै अपुरो हुन सक्छ,’ उनले भने।

Logo