नेपाली विद्यार्थी विदेशिनुको कारण शिक्षा मात्रै होइन -डा. तिवारी

नेपाली विद्यार्थी विदेशिनुको कारण शिक्षा मात्रै होइन -डा. तिवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सिपल एवं डाइरेक्टर डा. आशिष तिवारीले नेपाली विद्यार्थीहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश पलायन हुनुको पछाडि कुनै एउटा मात्र कारण नभएर बहुआयामिक पक्षहरू जिम्मेवार रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै डा. तिवारीले नेपालको शिक्षा क्षेत्रमा पूर्वाधार र लगानी बढे पनि त्यस अनुपातमा अवसर र रोजगारी सिर्जना हुन नसक्नु नै प्रमुख समस्या भएको औँल्याए । शिक्षालाई बजारको माग र औद्योगिक क्षेत्रसँग जोड्न नसक्दा उत्पादित जनशक्तिले देशभित्र भविष्य नदेखेर बाहिरिने गरेको उनको भनाइ थियो ।

‘नेपाली विद्यार्थीहरू किन विदेश गइरहेका छन् भन्ने कुराको एउटै मात्र कारण छैन, यसमा सामाजिक, आर्थिक र भविष्यको सुरक्षा जोडिएको छ । हाम्रो शिक्षामा लगानी त बढेको छ, तर उत्पादित जनशक्तिलाई रोक्ने गरी रोजगारी सिर्जना हुन सकेको छैन,’ उनी भन्छन्, ‘अब हाम्रो सम्पूर्ण फोकस केवल प्रमाणपत्र बाँड्नेमा होइन, गुणस्तर अभिवृद्धि र प्रविधिमैत्री शिक्षामा हुनुपर्छ, जसले हाम्रा विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य बनाओस् ।’

डा. तिवारीले कलेजको आफ्नो अनुभव र तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा स्नातक तह सकिएपछि करिब ५० प्रतिशत विद्यार्थीहरू थप अध्ययन र करियरका लागि विदेशिने गरेको जानकारी दिए । यद्यपि, नेपालमै स्नातकोत्तर तह पूरा गर्नेहरू भने धेरैजसो विदेश जानुको सट्टा नेपालकै बजारमा स्थापित हुने र देशभित्रै बस्ने गरेको सुखद ट्रेन्ड समेत उनले सुनाए ।

तिवारीले पाठ्यक्रम र शिक्षण विधिलाई समयसापेक्ष र प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिए । राज्य र शैक्षिक संस्थाहरूले यसतर्फ गम्भीर भएर नसोच्ने हो भने प्रतिभा पलायनको यो लहरलाई रोक्न गाह्रो हुने उनको भनाइ छ ।

Logo