काठमाडौं । नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स)का क्षेत्रीय प्रबन्धक मुकेश धमलाले नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश पलायन हुनुलाई केवल देशको क्षतिका रूपमा मात्र हेर्न नहुने बताएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा धमलाले यस विषयलाई फरक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका हुन् ।
धमलाले हरेक वर्ष ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू बाहिरिँदा देशको अर्बौँ रुपैयाँ विदेशिएको तथ्यलाई स्वीकार गर्दै यसलाई ‘ब्रेन ड्रेन’ को चिन्ता मात्र गर्नुभन्दा ‘ब्रेन सर्कुलेसन’ का रूपमा बुझ्नुपर्ने बताए । विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई समेटेर ती विद्यार्थीहरूलाई कसरी पुनः नेपाल फिर्ता ल्याउन सकिन्छ र उनीहरूको क्षमतालाई देश विकासमा कसरी उपयोग गर्ने भन्नेतर्फ अबको बहस केन्द्रित हुनुपर्ने उनको तर्क थियो ।
‘हामी हरेक वर्ष विद्यार्थी विदेशिए र अर्बौँ रुपैयाँ बाहिरियो भनेर चिन्ता मात्र गर्छौँ, यो तथ्य त हो तर यसलाई फरक नजरियाले हेर्नुपर्छ । बाहिर जानु मात्रै क्षति होइन, यो त ‘ब्रेन सर्कुलेसन’ हो । अब मुख्य चुनौती भनेको ती विद्यार्थीलाई देशमा कसरी फिर्ता ल्याउने र नेपाललाई नै कसरी विदेशी विद्यार्थी आकर्षण गर्ने देश (एजुकेसन डेस्टिनेसन) बनाउने भन्ने हो । हाम्रै छिमेकी देश भारत, श्रीलंका र भियतनाम एजुकेसन हब बन्न सक्छन् भने नेपाल किन सक्दैन ?,’ उनले भने ।
धमलाले नेपालको शैक्षिक क्षेत्रमा रूपान्तरण ल्याउन र यसलाई दिगो बनाउन राज्यले स्पष्ट मार्गचित्रसहितको कानुनी वातावरण बनाइदिनुपर्ने माग गरे । निजी क्षेत्र र शैक्षिक सरोकारवालाहरू देशको शिक्षा सुधार्न सक्षम र प्रतिबद्ध रहेको भन्दै उनले नीतिगत स्पष्टताको अभाव नै मुख्य बाधक रहेको औँल्याए ।
कानुन निर्माता र नीति नियम बनाउने निकायलाई आग्रह गर्दै उनले थपे, ‘म हाम्रा कानुन निर्माताहरूलाई भन्न चाहन्छु— हामीलाई उचित नीति दिनुहोस्, अनुकूल कानुन दिनुहोस्, बाँकी काम हामी गरेर देखाउँछौँ । हामी नेपालको शिक्षा क्षेत्रसँग एउटा दिगो सम्बन्ध स्थापित गर्न चाहन्छौँ र हामीलाई राम्रोसँग थाहा छ कि हाम्रा विद्यार्थीहरूको भविष्य हाम्रो नीति र बलियो संकल्पमा निहित छ । अबको मूल प्रश्न भनेको हामी शैक्षिक बजारमा आएको यो वैश्विक बदलावसँगै केवल बहन्छौँ मात्र कि नेपाललाई शैक्षिक रूपान्तरणको दिशामा आफैँ डोर्याउँछौँ भन्ने हो ।’





























प्रतिक्रिया