निजी र सरकारी दुवैले आफ्नो शैली बदले नेपाललाई शिक्षाको हब बनाउन सम्भव छ -सहसचिव भुसाल

निजी र सरकारी दुवैले आफ्नो शैली बदले नेपाललाई शिक्षाको हब बनाउन सम्भव छ -सहसचिव भुसाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका सहसचिव चन्द्रकान्त भुसालले सकारात्मक सोच र उद्यमशील शिक्षाको विकास गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउन पूर्ण रूपमा सम्भव रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा सहसचिव भुसालले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गौरवलाई शिक्षाको रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिए ।

नेपाल प्राकृतिक र आध्यात्मिक रूपमा समृद्ध रहेको उल्लेख गर्दै उनले यहाँको मौलिक पहिचानलाई नै शैक्षिक विकासको बलियो जग बनाउन सकिने औँल्याए ।

सहसचिव भुसालले भने, ‘हामी बुद्धको भूमि र शिवको भूमिमा छौँ । बुद्धको ज्ञान र शिवको शक्तिलाई हामीले शिक्षाको माध्यमबाट संसारभर कति सम्प्रेषण गर्न सक्यौँ, नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा यसैमा निर्भर रहन्छ । हाम्रो शिक्षालाई अब केवल सैद्धान्तिक मात्र होइन, उद्यमशील र व्यावहारिक बनाउन जरुरी छ ।’

भुसालले देशको समग्र शैक्षिक प्रणाली र बुझाइमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याउँदै निजी र सरकारी क्षेत्र दुवैले आफ्नो पुरानो शैली बदल्नुपर्ने बताए । राज्य र निजी क्षेत्र मिलेर अघि बढेमा विदेशी विद्यार्थीलाई समेत नेपाल भित्र्याउन सकिने उनको दाबी थियो । ‘नेपाललाई एजुकेसन हब बनाउन हामीले समग्रतामा आफ्नो माइन्डसेट परिवर्तन गर्नुपर्छ । सबैले सकारात्मक सोचका साथ काम गर्ने हो भने यो लक्ष्य हासिल गर्न कत्ति पनि गाह्रो छैन । यसका लागि शिक्षा मन्त्रालयले नेतृत्वदायी र समन्वयकारी भूमिका सधैँ निर्वाह गर्नेछ,’ उनले भने ।

Logo