समुह विजेता बन्ने दाउमा सहआयोजक मेक्सिको र कोरिया

समुह विजेता बन्ने दाउमा सहआयोजक मेक्सिको र कोरिया

केन्द्रबिन्दु
27
Shares

मेक्सिको सिटी । मेक्सिको र दक्षिण कोरिया बिहीबार एकअर्काविरुद्ध खेल्दा आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने उद्देश्यमा रहनेछ । ग्वाडालाजारामा हुने खेलको विजेताले समूह ‘ए’ जितेर अर्को चरण प्रवेशको सम्भावना बलियो पार्नेछ ।

सह–आयोजक रहेको मेक्सिकोले प्रतियोगिताकै उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो । अबको खेलमा जाभियर अगुइरेलाई आफ्नो डिफेन्समा परिवर्तन आवश्यक पर्नेछ । सिजर मोन्टेसले रातो कार्ड पाएको हुनाले उनी यस खेलमा हुने छैनन् ।

त्यस खेलको दोस्रो हाफमा तीन रातो कार्ड देखाइएको थियो । यस्तोमा मेक्सिकोका कप्तान एडसन अल्भारेजले सेन्ट्रल डिफेन्सको भूमिका निभाउनुपर्ने हुनसक्छ । इजरेल रेयेस राइट ब्याकतर्फ जानुपर्नेछ । प्रशिक्षक अगुइरेले गिल्बर्टो मोरालाई पनि सुरुदेखि खेलाउन सक्छन् ।

दक्षिण अफ्रिकाविरुद्ध बेञ्चबाट मैदानमा प्रवेश गर्दै किशोर खेलाडी मोराले धेरैलाई प्रभावित पारेका थिए । उनी भर्खर १७ वर्षका भए । यो विश्वकपमा उनी नै सबैभन्दा कान्छा खेलाडी रहेका छन् । उनी आएयता मेक्सिकोको आक्रमण अझ धारिलो बनेको छ ।

दक्षिण कोरियाले पनि आफ्नो पहिलो खेल जितेको थियो । यसक्रममा चेक गणतन्त्र (चेकिया) माथि २–१ को पुनरागमन विजय हात पारेको थियो । त्यसमा खेलको अन्त्यतिर ओह ह्योन–ग्युले निर्णायक गोल गरेका थिए । मेक्सिकोको सामना गर्दा प्रशिक्षक ह्योङ म्युङ–बोसामु खेलाडी छनोटमा धेरै विकल्प हुनेछ ।

मिडफिल्डर बाए जुन–हो र किम ताए–ह्येन चोटमुक्त भएर मैदानमा उत्रन तयार छन् । उनीहरू घाइते भएपछि दक्षिण कोरियाको विश्वकप तयारीमै समस्या भएको थियो । प्रशिक्षक ह्योङलाई आफ्ना कप्तान सन ह्युन–मिनलाई कसरी ठीक ढंगले प्रयोग गर्ने हो, त्यो चुनौती हुनेछ ।

टोटनहमका पूर्व फरवार्डले चेकविरुद्ध सुरुदेखि खेल्न पाए पनि अहिले उनलाई केही पछाडि तानेर सहयोगी भूमिकामा राख्न सकिनेछ । त्यसका लागि ओहले अगाडि रहेर आक्रमण बुन्ने छन् । दुवै टिम अहिले नकआउट चरण प्रवेशका लागि अनुकूल स्थितिमा छन् ।

तर, समूह जित्नुको अर्थ हुनेछ, नकआउट चरणमा अपेक्षाकृत केही सजिलो प्रतिद्वन्द्वी पाउनु । समूह विजेताले अर्को समूहको विजेतासँग तुरुन्तै खेल्नुपर्ने छैन । यो खेलमा मेक्सिको र दक्षिण कोरियाली समर्थकबीच यसअघि रहेको मित्रवत् भावना भने रहने छैन ।

सन् २०१८ को विश्वकपमा मेक्सिकोका समर्थकले जर्मनीमाथि दक्षिण कोरियाली जितको खुसीयाली मनाएका थिए । यही नतिजाका कारण मेक्सिको नकआउट चरण पनि पुगेको थियो । त्यसको आठ वर्षपछि यो मित्रतामा अहिले पूर्णविराम लाग्नेछ ।

Logo