गुआङ्गडोङ (चीन) । विगत केही दिन देखि दक्षिण चीनको गुआङ्गडोङ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण उक्त क्षेत्रहरूमा बसोबास गर्ने ३७ हजार ६०१ जना बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले रिपोर्ट गरेको छ ।
सिन्ह्वाका अनुसार गुआङ्गडोङ प्रान्तमा तेस्रो स्तरको बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया र चौथो स्तरको विपद् राहत आपतकालीन प्रतिक्रिया जारी गरी राखिएको छ ।
झुहाई र शेन्जेन लगायत धेरै सहरहरूले विद्यालयाहरू बन्द गर्ने सूचना जारी गरेको जनाइएको छ । वर्षाका कारण हुने सुरक्षा जोखिमबाट बच्न चीन रेलवे गुआङझाउ समूहले रेल सञ्चालन समय तालिका समायोजन गरेको पनि उल्लेख गरिएको छ ।
सिन्ह्वाका अनुसार गुआङ्गडोङ फायर एण्ड रेसकिउ कोरले गत शुक्रबार देखि प्रमुख सहरहरूमा २४७ जना अग्नि नियन्त्रक, ५३ वटा फायर ट्रक र ३७ वटा डुङ्गाहरू तैनाथ राखेको छ ।
यसैबीच, गुआङ्गडोङ प्रान्तीय जलस्रोत विभागले जलाशयहरूमा गस्ती बढाएको जनाएको छ ।
भारी वर्षाका कारण प्रशासनले आपतकालीन मर्मत–सम्भारका लागि सात हजार २२६ जना कर्मचारी दुई हजार ९९४ सहायक सवारी साधन र दुई हजार १०८ जेनेरेटर आपतकालीन राहतका लागि परिचालन गरेको छ ।
प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार हाल सम्म कुनै हताहत भएको खबर आएको छैन । सिन्ह्वाका अनुसार, प्रान्तीय मौसम विज्ञान विभागले बिहीबारसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । शुक्रबार देखि शनिबारसम्म प्रान्तभरि वर्षा सामान्यतया कमजोर हुने उल्लेख गरिएको छ ।
जी–२० जलवायु जोखिम एटलसका अनुसार, जलवायु परिवर्तनले पहिले नै चीनमा विनाशकारी प्रभाव पारेको छ ।
यस्तै अवस्था रहेमा चीनले विनाशकारी जलवायु प्रभावहरूको सामना गर्नु पर्ने रिपोर्ट गरिएको छ । उत्सर्जन घटाउन तत्काल कदम नचालिएमा, चिनमा गर्मीको लहर लामो समयसम्म रहनेछ र गर्मीसँग सम्बन्धित अतिरिक्त मृत्युहरू बढ्ने जनाइएको छ । सन् २०५० सम्ममा चीनमा दुई करोड ५० लाख भन्दा बढी मानिसहरूले नदी बाढीको सामना गर्नु पर्ने जनाइएको छ ।
चीनले जति छिटो कम कार्बन उत्सर्जन नीतिहरू अपनाउँछ, त्यती नै छिटो जलवायु प्रभावहरू कम हुने र तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित गरेमा चीनमा जलवायु प्रभावको लागत घट्ने जनाइएको छ ।





























प्रतिक्रिया