विद्युत् प्राधिकरणले प्रसारण लाइन नबनाउँदा २५ मेगावाट बिजुली खेर

विद्युत् प्राधिकरणले प्रसारण लाइन नबनाउँदा २५ मेगावाट बिजुली खेर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइन नबनाइदिँदा साना तथा मझौला जलविद्युत् उत्पादकले उत्पादन गरेको करिब २५ मेगावाट विद्युत् खेर गइरहेको छ । कतिपय आयोजनाका प्रसारण लाइन नै नजोडिँदा र कतिपयमा भएका प्रसारण लाइनको क्षमता न्यून हुँदा निजी ऊर्जा उत्पादकले वार्षिक ३६ करोड रुपैयाँसम्म क्षति व्यहोर्नुपरेको छ ।

उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा वर्षको औसत १ सय २० दिनसम्म विद्युत् खेर फाल्नुपर्दा आयोजनाहरू आर्थिक रूपले संकटग्रस्त बन्दै गएका छन् । विशेष गरी भएका प्रसारण लाइनको पनि क्षमतामा वृद्धि नगरेका कारण आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा लोड नधान्ने समस्या रहेको छ ।

देशभर आर्थिक रूपले संकटग्रस्त चरणमा पुगेका करिब ३६ वटा साना जलविद्युत् आयोजनामध्ये १० वटाको विद्युत् खेर गइरहेको विद्युत् प्रवर्धकहरूले जानकारी दिएका छन् । त्यस्ता आयोजनाबाट २४ दशमलव ९३ मेगावाट विद्युत् खेर गइरहेको छ ।

यसको मौद्रिक मूल्यमा ३५ करोड ८९ लाख रुपैयाँबराबर हो । यसरी हरेक वर्ष विद्युत् खेर जाने आयोजनाको संख्या वृद्धि हुँदै गइरहेको बाराही जलविद्युत् आयोजनाका कार्यकारी अध्यक्ष सूर्यप्रसाद अधिकारीले बताए । ५ वर्षदेखि सानो अंशमा मात्र विद्युत् खेर जाने गरेको भए पनि पछिल्ला २ वर्षदेखि परिमाण बढ्दै गएको छ ।

विद्युत् प्राधिकरणसँग गरेको सम्झौता अनुसार आयोजना सम्पन्न हुँदासम्म प्रसारण लाइन निर्माण भइसक्नुपर्ने हुन्छ । उत्पादित विद्युत् खेर नजाने प्रत्याभूति गरिएको हुन्छ । त्यस्तै, आयोजना सम्पन्न हुनु अघि नै प्रसारण लाइन पुगेको ठाउँमा पनि क्षमता वृद्धि गर्ने दायित्व प्राधिकरणले लिएको हुन्छ ।

तर, आयोजना सम्पन्न भएको लामो समय हुँदासम्म पनि प्रसारण लाइनमा बिजुली जोड्न नपाउँदा विद्युत् खेर गइरहेको सिप्रिङ खोला जलविद्युत् आयोजनाका प्रवर्धक विष्णुराज अधिकारीले बताए । ‘प्राधिकरणले प्रसारण लाइन नबनाएका कारण विद्युत् खेर गयो भने त्यसको क्षतिपूर्ति दिनुपर्ने हो, तर ऊ न समयमा लाइन बनाउँछ, न क्षतिपूर्ति नै दिन्छ,’ अधिकारीले बताए ।

हरेक बर्खा सिजनको ४ महिना (१५ जेठदेखि १५ असोजसम्म) विद्युत् पूर्ण क्षमतामा उत्पादन हुने गरेको, तर प्रसारण लाइनको अभावमा खेर फाल्नुपरिरहेको उनीहरूको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको ‘निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन’ पनि साना तथा मझौला जलविद्युत् आयोजना आर्थिक रूपले संकटग्रस्त हुनुमा एउटा कारण विद्युत् खेर जानुलाई ठहर्‍याएको छ । नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo