महेश्वरी युवामञ्च काठमाडौंद्वारा आयोजित ३१औं रक्तदान कार्यक्रम सम्पन्न

महेश्वरी युवामञ्च काठमाडौंद्वारा आयोजित ३१औं रक्तदान कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महेश्वरी समाज तथा महेश्वरी युवामञ्च काठमाडौंले आफ्नो स्थापनाकालदेखि निरन्तर सञ्चालन गर्दै आएको रक्तदान अभियानको ३१औं संस्करण यस वर्षको महेश नवमीको पावन अवसरमा भव्य रूपमा सम्पन्न गरेको छ ।

नक्सालस्थित केन्द्रीय कार्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरमा १ सयभन्दा बढी उत्साही रक्तदाताहरूले स्वस्फूर्त सहभागिता जनाउँदै रक्तदान गरेका छन् ।

सामाजिक उत्तरदायित्वको गहिरो भावनालाई आत्मसात् गर्दै मञ्चले हरेक वर्ष आयोजना गर्ने यस कार्यक्रमले यसपालि ३१ वर्षको गौरवशाली यात्रा पूरा गरेको छ । यसैगरी, नेपाल महेश्वरी महिला संगठनसँगको सहकार्यमा नेत्रदानसम्बन्धी सचेतना तथा दर्ता कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले अंगदानप्रतिको सामाजिक दायित्वलाई थप बल प्रदान गरेको छ ।

महेश्वरी युवामञ्च काठमाडौंका अध्यक्ष पकंज सारडाले आजको शिविरमा संकलित सम्पूर्ण रगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवालाई हस्तान्तरण गरिने जानकारी दिए । उनले भने, “तीन दशकभन्दा लामो यस अभियानले रगतको अभावमा कसैले पनि अकालमा ज्यान नगुमाओस् भन्ने हाम्रो सामूहिक संकल्पलाई प्रतिबिम्बित गर्दछ । ३१औं वर्षमा पनि उत्साहजनक सहभागिताले हामीलाई थप जिम्मेवार बनाएको छ ।”

मञ्चले रक्तदानलाई मात्र आफ्नो एकमुखी कार्यक्रम नबनाई समग्र सामाजिक र युवा विकासलाई केन्द्रमा राखेको छ । संस्थाले हरेक वर्ष बालबालिकालक्षित फुटबल, क्रिकेट प्रतियोगिता, निःशुल्क खेलकुद सामग्री वितरण, स्विमिङ प्रशिक्षण तथा बहस प्रतियोगिताजस्ता विविध रचनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । ३१औं रक्तदान कार्यक्रमले पनि सेवा, समर्पण र मानवीयताको त्यही परम्परालाई जीवन्त राखेको संस्थाका पदाधिकारीहरूको भनाइ रहेको छ ।

Logo