भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बसिरहेकाे छ। पार्टीको आसन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा लैजाने नीति, रणनीति तथा ‘एजेन्डा’हरू पारित गर्नका लागि यो अन्तिम बैठक भरतपुर-२ स्थित दियालो फुडल्याण्डमा बसेकाे हो।
बैठकमा महाधिवेशनको अन्तिम तयारी, विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रतिवेदन लगायतका विविध विषयमा सघन छलफल गरी एजेन्डाहरू तय गरिँदैछ।
यसैबीच, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापन र शुल्क संकलनको काम पनि तीव्र गतिमा अघि बढेको छ। प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक लिमा अधिकारीका अनुसार हालसम्म देशभरबाट ३ हजार ९ सय ९० जना प्रतिनिधिहरूले प्रक्रिया पूरा गरी प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले सहभागिता शुल्क बुझाइसकेका छन्। जसबाट १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।
यसरी संकलन भएको प्रतिनिधिहरूको विस्तृत विवरण र तथ्याङ्क आवश्यक कानुनी एवं प्रक्रियागत प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाइसकिएको छ। आयोगमा बुझाइएको उक्त विवरणलाई हाल रुजु गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी गराइएको छ।





























प्रतिक्रिया