काठमाडौं,२५, मंशिर
प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक । प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए, भन्ने प्रश्न उब्जिन्छ । यो सूचीको पहिलो नम्बरमा आउँछ, दोलखाको प्रतिस्पर्धा । दोलखामा एमालेका पार्वत गुरुङले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले जितेका छन् । उनको प्रतिस्पर्धीसँग मत अन्तर नै ३० हजार ४ सय ४४ छ । कांग्रेसका रुद्र खडकाले २४ हजार ८ सय १३ मत ल्याउँदा गुरुङले ५५ हजार ४ सय ५७ मत पाए ।
गुरुङपछि सबैभन्दा ठूलो अन्तरमा एमाले अध्यक्ष केपी ओलीले जितेका छन् । झापा–५ बाट निर्वाचित ओलीले २८ हजार ८ सय ४२ मतको अन्तरमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । अन्तरमा दोस्रो भए पनि ओली अहिलेसम्मको सबभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार हुन् । उनले ५७ हजार १ सय ३९ मत ल्याएका छन् । धादिङ–१ मा पनि त्यस्तै रोचक प्रतिस्पर्धा भएको छ । एमालेका भूमि त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई दोब्बर बढी मतले हराएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ म ल्याउँदा अर्यालले २१ हजार ९ सय ६८ मात्र पाए । त्रिपाठीले २७ हजार १ सय ५३ मतले अर्याललाई हराए । रूपन्देही–२ मा एमालेका उपमहासचिव विष्णु पौडेलले २२ हजार ६३ मतको अन्तरमा कांग्रेसका युवराज गिरीलाई हराए । पौडेलले ४४ हजार ९ मत ल्याए भने गिरीको २१ हजार ९ सय ४६ मत मात्र आयो ।
यता राजपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याएर जिते । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरी भन्दा १७ हजार ३ सय ३८ मत बढी ल्याएका छन् । ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याउँदा चौधरीले ८ हजार ४ सय ४७ मत मात्र प्राप्त गरे । रोल्पामा माओवादीका वर्षमान पुन र रुकुम पश्चिममा जनार्दन शर्माले पनि दोब्बर बढीको फराकिलो अन्तरमा जितेका छन् । पुनले २० हजार ७ सय ४१ मतको फरकमा जितेका छन् । उनले ४० हजार ६ सय ४७ मत ल्याउँदा कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत मात्र प्राप्त गरे । रुकुम पश्चिममा शर्माले १८ हजार ७ सय ४३ मतको दोब्बर फरकमा जितेका छन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत मात्र ल्याए ।
कान्तिपुरबाट





























प्रतिक्रिया