काठमाडौं, २४,मंशिर
कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नु परेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशी लगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् । शनिबार राति सम्मको मतपरिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिब टरेको छ । ०४८ साल देखि निरन्तर चुनाव जित्दै आएका पौडेलले यो पटक आफ्नो क्षेत्रलाई सुरक्षित गर्न नसक्ने देखिएको छ । धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि पनि पराजित भइसकेका छन् । । सुर्खेतमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि पराजय भेगेका छन् । कांग्रेसका प्रभावशाली मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा धेरै पछाडि धकेलिएका छन् ।
शीर्ष नेता मध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह मात्रै विजयी भएका छन् । कांग्रेससँंग पार्टी एकता गरी चुनावमा होमिएका विजय गच्छदार समेत संकटमै छन् । गच्छदारलाई सुनसरी–३ मा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरीले टक्कर मात्रै दिएकी छैनन्, मतान्तर बढाउँदै लगेकी छन् । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका गच्छदारले आफू नेतृत्वको फोरम लोकतान्त्रिकलाई चुनावको मुखमै कांग्रेसमा मिसाएर मैदानमा उत्रिए पनि जित सुनिश्चित गर्न सकेनन् ।
पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य प्रदीप गिरि लगायत केही नेताको स्थिति सुदृढ छ । कांग्रेसको पकड रहँदै आएको मोरङमा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल मात्रै निर्वाचित भएका छन् । युवा नेता गगन थापाले काठमाडौं–४ मा जितेका छन् । केन्द्रीय सदस्यहरू रमेश लेखक, एनपी सावद, फरमुल्लाह मन्सुर, प्रधानमन्त्री पत्नी आरजु राणा लगायत पनि कडा प्रतिस्पर्धामा छन् । शनिबार अबेरसम्मको मतपरिणामले कांग्रेस प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । कांग्रेस निकट विश्लेषक र पार्टी भित्रकै नेताले यसलाई अनपेक्षित परिणामका रूपमा लिँदै पार्टीकै संगठनमा पुनसंरचनाको आवश्यकता औंल्याएका छन् । उनीहरूले नेतृत्व हस्तान्तरणको माग गरेको बताए । ‘समानुपातिकको गणना भइसके पछि मात्रै कांग्रेसको मत घटेको हो या एमाले र माओवादी केन्द्रको मत जोडिएकाले यस्तो परिणाम आएको हो भन्ने यकिन हुनेछ,’ कांग्रेस युवा नेता गगन थापाले भने । तर पनि प्रत्यक्षतर्फको नतिजामा पार्टी नेतृत्वको असफलता जोडिएको उनले बताए ।
कान्तिपुरबाट































प्रतिक्रिया