व्यवासायी अजेयराज सुमार्गीमाथि विस्तृत अनुसन्धान सुरु, राहदानी रोक्का

व्यवासायी अजेयराज सुमार्गीमाथि विस्तृत अनुसन्धान सुरु, राहदानी रोक्का

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान सुरु गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।

सुमार्गीले ‘ट्याक्स हेवन’ (करका लागि अनुकूल स्थान) मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्समा फर्जी कम्पनी खडा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीमाथि २०७४ मा अनुसन्धान सुरु भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि उनीमाथि विस्तृत अनुसन्धान गर्ने भनिएको थियो ।

तर राजनीतिक पहुँचमा उनीमाथि अनुसन्धान अघि बढ्न सकेको थिएन। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढाएको हो। त्यही क्रममा उनको पासपोर्ट रोक्काका लागि अध्यागमनमा पठाइएको विभागका एक अधिकारीले जानकारी दिए। ‘विभागको आग्रहमा मंगलबार अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको छ,’ ती अधिकारीले कान्तिपुरलाई भने।

२०७४ मा गरिएको प्रारम्भिक अध्ययनमा सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको रकमको स्रोत नखुलेको जनाउँदै ‘अवैध’ रहेको निष्कर्ष निकालिएको थियो। सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको सीआईबीलगायत निकायका अधिकारीहरूको प्रारम्भिक अध्ययनमा सुमार्गीको कारोबार शंकास्पद देखिएको भन्दै विभागका महानिर्देशक समक्ष प्रतिवेदन बुझाइएको थियो।

सुमार्गीले विदेशबाट ल्याएको करिब साढे ३ अर्ब रुपैयाँलाई नेपाल राष्ट्र बैंकले पनि ‘शंकास्पद’ भन्दै निकासा रोकिदिएको थियो। सुमार्गीले वैधानिक कागजात पेस गर्न नसक्दा विभिन्न वाणिज्य बैंकमा रहेको रकम राष्ट्र बैंकले ‘सिज’ गरेको थियो। तर २०७५ पछि ती बैंकबाट सुमार्गीले रकम झिकिसकेको सम्बन्धित बैंक स्रोतहरूले जनाएका छन्।

२०७४ अघि उनले करिब साढे ८ अर्ब रुपैयाँ झिकेर प्रयोग गरिसकेका थिए। पछि तीन अर्ब रुपैयाँ पनि निकासा गराउन उनी सफल भएका थिए। यस आधारमा उनले विभिन्न देशबाट करिब ११ अर्ब रुपैयाँ भित्र्याएका छन्। सुमार्गीले साइप्रसको एयरवेल सर्भिसेज प्रालि, ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालिबाट बढी रकम भित्र्याएको विभागको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो। विभागसम्बद्ध स्रोतका अनुसार यही रकमका विषयमा अनुसन्धानलाई तीव्रता दिइएको हो।

खोज पत्रकारिता केन्द्र (खोपके) र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले माघ २०७५ मा सार्वजनिक गरेको विवरणअनुसार सुमार्गीले विदेशस्थित विभिन्न कम्पनीमा पनि लगानी गरेका थिए। ‘साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो,’ नेपालिक्स नाम दिइएको खुलासामा भनिएको थियो। सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुने विभागले जनाएको छ।

सन् २००८ देखि २०१३ सम्म सुमार्गीले ९ पटकमा ६ करोड ३१ लाख ८५ हजार ५ सय ३३ अमेरिकी डलर एयरवेलबाट आफ्ना नेपाली कम्पनीमा रकम भित्र्याएको अनुसन्धानमा देखिएको थियो। सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करिब ६ करोड अमेरिकी डलर अहिलेसम्म नेपाल भित्र्याइसकेका अनुसन्धानले देखाएको थियो।

पुस २०७४ मा तयार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक अध्ययन प्रतिवेदनले उक्त रकम अवैध भएको निष्कर्ष निकालेको थियो। तर सुमार्गीले आफ्नो रकम औपचारिक विदेशी भएको दाबी गर्दै आएका थिए। विभिन्न विदेशी कम्पनीसँग सुमार्गीको सम्बन्ध रहेको त्यतिबेलै खुलेको थियो।

जसअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्यान्ड्सको बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रस्ट’ ले जोधार इन्भेस्टमेन्ट कम्पनी दर्ता गरिदिएको थियो। त्यसका एक लगानीकर्ता सुमार्गी रहेको र अर्का लगानीकर्ता उनकै कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर अर्जुन शर्मा रहेको अनुसन्धानले देखाएको छ।

त्यही जोधार इन्भेस्टमेन्टबाट २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार २ सय २२ अमेरिकी डलर सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भित्र्याएका थिए। जोधारले सन् २०१३ नोभेम्बर २२ मा १ हजार ६० कित्ता सेयर ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएको वर्ल्ड वाइड इन्क्रेडिबललाई हस्तान्तरण गरेको बताइएको छ। वर्ल्ड वाइड सोही दिन सुमार्गीका नाममा दर्ता रहेको एयरवेल सर्भिसेजको पनि अंशियार भएको थियो। यसका लगानीकर्ता भने सुमार्गी रहेको खोज पत्रकारिता केन्द्र (खोपके) र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले पुष्टि गरेका थिए।

यस्तै, सुमार्गीले नेपालमा कर छली गरेको उदाहरण पनि छ। महालेखा परीक्षकको ५४ औं प्रतिवेदनअनुसार दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छली गरेका छन्। महालेखाको सो प्रतिवेदनअनुसार उनले नेपाल र विदेशमा रहेका कम्पनीहरूबीच सेयर बिक्री गर्ने नाममा कुल १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कर छली गरेका हुन्।

Logo