इलाम, २०, मंसिर
मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत देखि सहयोगी सम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए । महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुई जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।
रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको हो । यसपटक गोलाप्रथाद्वारा मतदान र सहायक मतदान अधिकृत छनौट गरिएकाले एउटा मतदान केन्द्रमा मात्र महिला पर्नु भएको भट्टराईले बताए । चारवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको इलाममा २ लाख चार हजार ४६ मतदाता छन् । सबै मतदान केन्द्रमा सोमबार सम्ममा कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रासस





























प्रतिक्रिया