काठमाडौं । कोलम्बिया र पोर्चुगलबीच शनिबार मियामी स्टेडियममा भएको रोमाञ्चक खेल ०–० को बराबरीमा सकिएको छ। गोल हुन नसके पनि खेल निकै प्रतिस्पर्धात्मक रह्यो र दुवै टोली समूह ‘के’ का शीर्ष दुई स्थानमा रहँदै विश्वकपको अन्तिम ३२ मा पुगे ।
समूह विजेता बनेको कोलम्बियाले अब शुक्रबार कान्सास सिटीमा घानासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष स्थान हासिल गर्न जित आवश्यक रहेको पोर्चुगल भने उपविजेतामा सीमित रहँदै बिहीबार टोरोन्टोमा क्रोएसियासँग खेल्नेछ ।
पहेंलो जर्सी लगाएका कोलम्बियाली समर्थकहरूको ठूलो उपस्थितिबीच सुरु भएको खेलमा कोलम्बियाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन कोर्डोबाको हेडर बारमाथिबाट बाहिरिएको थियो ।
जोन आरियासले लगातार पोर्चुगलको रक्षापंक्तिलाई समस्यामा पारे । १७औँ मिनेटमा उनले मिलाइदिएको पासमा कोर्डोबाले शक्तिशाली प्रहार गरे पनि गोलकिपर डियोगो कोस्टाले उत्कृष्ट बचाउ गरे । २२औँ मिनेटमा कोलम्बियाले अर्को उत्कृष्ट अवसर सिर्जना गर्यो । आरियासको प्रहार गोललाइन पार गर्न लाग्दा रुबेन नेभेसले समयमै क्लियर गर्दै टोलीलाई संकटबाट जोगाए ।
पहिलो हाफमा कोलम्बियाले खेलमा पकड जमाए पनि केही रक्षात्मक कमजोरीका कारण पोर्चुगलले पनि अवसरहरू पायो । ३९औँ मिनेटमा ब्रुनो फर्नान्डेसको नजिकबाट गरेको प्रहारलाई गोलकिपर कामिलो भार्गासले उत्कृष्ट रूपमा रोके । त्यसको तीन मिनेटपछि जोआओ फेलिक्सको आकर्षक भली बारमाथिबाट बाहिरियो ।
पहिलो हाफको अन्त्यतिर गुस्ताभो पुर्ता र कप्तान जेम्स रोड्रिगेजले पनि पोर्चुगली पोस्टमा दबाब सिर्जना गरे तर गोल निकाल्न सकेनन् । दोस्रो हाफमा पोर्चुगल केही आक्रामक देखिए पनि स्पष्ट अवसर भने कोलम्बियाले नै सिर्जना गरिरह्यो । आरियासको पासमा वैकल्पिक खेलाडी रिचार्ड रियोसको प्रहार लक्ष्यभन्दा बाहिरियो । त्यसपछि आरियासको घुमाउरो प्रहारलाई कोस्टाले बचाए भने पुर्ताको अर्को अवसर पनि खेर गयो ।
७३औँ मिनेटमा जेम्स रोड्रिगेजको भली डिफ्लेक्ट हुँदै बाहिरिएपछि उनी र आरियास दुवै मैदानबाट बाहिरिए । त्यसपछि पनि कोलम्बियाले आक्रमण जारी राख्यो । खेल सकिन एक मिनेट बाँकी रहँदा डाभिन्सन सान्चेजले हेडमार्फत गोल गरेजस्तो देखिएको थियो । तर भिएआर जाँचपछि अत्यन्त झिनो अफसाइड ठहर गर्दै गोल रद्द गरियो ।
इन्जुरी समयमा पोर्चुगलका राफाएल लियाओले निर्णायक गोल गर्ने अवसर पाए पनि उनको प्रहार गोलपोस्ट अगाडिबाट बाहिरियो र खेल गोलरहित बराबरीमा टुङ्गियो । ६४ हजार ४ सय ७८ दर्शकको उपस्थितिमा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने प्रभाव जमाउन सकेनन् । बल छोएको हरेक पटक दर्शकबाट हुटिङ खेपेका उनले पर्याप्त पास नपाउँदा खेलभरि संघर्ष गरे । उनको लक्ष्यतर्फ गएको एकमात्र प्रहार लामो दूरीको फ्रिकिक थियो, जसलाई गोलकिपरले सहजै नियन्त्रण गरेका थिए ।





























प्रतिक्रिया