काठमाडौं ।
यतिबेला निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौडधुप सुरु भएको छ । महासंघको साधारणसभा गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । तर, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले पटक पटक स्थगित भएको थियो ।
तर पछिल्लो पटक कोरोना महामारीका बिचमा नै महासंघको ५४ औं साधारणसभा आगामी मंसिर ११ र १२ गते तथा कार्यकारिणी समितिको निर्वाचन १३ गते हुने भएको छ । महासंघको कार्यातालिका अनुसार साधारण सभाको उदघाटन मंसिर ११ गते दिउसो ४ बजे भर्चुअल माध्यमबाट हुनेछ । साथै, साधारणसभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिको सदस्यको लागि निर्वाचन भने मंसिर १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा छुट्टा छुट्टै हुने गरी कार्यपालिका बनिसकेको छ ।
यसरी महासंघले साधारणसभाको सबै कार्यतालिका समेत तयार पारेकाले महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा कडा प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वतः अध्यक्ष बन्ने भएकाले साधारण सभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् भने अन्य पदका लागि भने चुनावी मैदानबाट चुनिनेछ ।
यही विधान अनुरुप अहिले महासंघमा वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि चुनावी सरगर्मी बढ्दै गएको छ । वरिष्ठ उपाध्यक्षको निर्वाचनको प्रतिस्पर्धामा रहेका दुवै समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरिसकेका छन् । यसरी दुवै समुहले उमेदवारी दर्ता गरेसँगै सम्पूर्ण व्यवसायीहरु चुनावी रैनकमा लागेका छन् । निर्वाचन नजिकिँदै आएकाले चुनावी मैदानमा रहेका ढकाल र प्रधान दुवै समूहले आफ्नो प्रसारप्रचारलाई पनि तीव्र बनाएका छन् ।
यस्तै, महासंघसँग जोडिएका देशभरका सबै उद्योगी व्यवसायी पनि भावी नेतृत्व छनोट गर्न सक्रियताका साथ लागीरहेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको अध्यक्ष हुने भएकाले अहिले महासंघको चुनाव पनि वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित भएर गएको छ । यसका लागि ढकाल र प्रधान दुई समुहको प्यानलसहित चुनावी मैदानमा छन् । जस अनुसार ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेदवारी दिएका छन् ।
यस्तै, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन् । अहिले छुटाछुटै दिन पारेर दुबै समुहले आफ्नो प्यानलसहित उमेदवारी दर्ता गरी सकेका छन् । किशोर प्रधानको प्यानललाई पूर्वअध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवाणी राणा र शेखर गोल्छाको समेत बलियो साथ रहेको छ । यता चन्द्र ढकाल समूहलाई भने महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको मात्रै साथ रहेको छ ।
यसरी महासंघको आगामी निर्वाचनका लागि चुनावी महोल बढ्दै गएको छ भने दुबै उम्मेदवारहरुले आ–आफूले जित्ने ठोकुवा गदै आएका छन् । तर यी दुबै समुह मध्ये ढकाल वा प्रधान कसको पल्लाभारी हुन्छ भन्ने निर्वाचन पछि मात्रै थाहा हुनेछ । कोरोना महामारीले व्यवसाय धरासायी बन्दै गएको अवस्थामा व्यवसायीहरुको छातासङ्गठन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले कस्तो भूमिका खेल्छ र व्यवसायीका कस्ता मुद्दालाई अगाडि सारेका छन् भन्ने कुराले पनि निर्भर पार्ने देखिन्छ ।
प्रधान र ढकालद्वारा महासंघका छुटाछुटै समस्या समाधान गर्ने प्रतिवद्धता
किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा महासंघमा वर्षौंदेखि रहदै आएको राजनीतिकरण हटाउन प्रयास गर्ने बताएका छन् । प्रधानले महासंघमा विगतका वर्षदेखि राजनीति बढ्दै गएको भन्दै आफू निर्वाचित भएपछि महासंघलाई राजनीतिक किचलोबाट टाढा राख्न सहयोग गर्ने बताउदै आएका छन् । त्यस्तै, उनले आफ्नो उम्मेदवारी भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्व सफल पार्न आफूले जित्नु पर्ने बताए ।
त्यस्तै, चन्द्र ढकालले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि कोरोना भाइरसका कारण संकटमा परेका व्यवसाय बचाउन पहल गर्ने बताएका छन् । ढकालले आफ्नो प्यानलका पदाधिकरीसहित उम्मेद्वारी कार्यक्रममा महामारीले संकटमा परेका साना तथा मझौला व्यवसाय बचाउन महासंघको नेतृत्व सक्षम हुनुपर्ने र यस्ता व्यवसाय बचाउन आफ्नो समुह सक्षम रहेकाले व्यवसायीक क्षेत्रलाई चलायमान बनाएर देशको अर्थतन्त्रलाई माथि उकास्न सहयोगी भूमिका खेल्ले बताएका छन् ।
दुबै समुहलाई सहमतिमा लैजाने गोल्छा र राणाको प्रयास
महासंघकी वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छा दुबै जना वरिष्ठ उपध्याक्षका दुवै उम्मेद्धार चन्द्र ढकाल र किशोर श्रेष्ठलाई अहिलेको कोरोना समस्याको प्रतिकुल परिस्थितीमा चुनावी मैदानबाट भन्दा सहमतिय रुपमा जानु उपयूक्त हुने भन्दै सहमति जुटाउन लागि परेको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जाल ट्वीटरमा तान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरीका हो तर अहिलेको विषम परिस्थितिमा उद्योग वाणिज्य महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रका लागि सुखद हुने थियो, यो प्रयास जारी राखौं भनेका छन् ।
उनले महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दर्ता गरिसके पनि सहमति गरेर नै अगाडि बढ्नु राम्रो हुने संकेत गरेका छन् । गोल्छाले दुबै पक्ष निर्वाचनमा होमिइसकेको अवस्थामा भए पनि सर्वसम्मत नेतृत्व चयन सम्भव रहेको समेत बताएका छन् ।
त्यस्तै, महासंघकी वर्तमान अध्यक्ष भवानी राणाले पनि महासंघको निर्वाचनमा प्रधान र ढकाललाई राखेर सहमतिको प्रयास गर्ने बताएकी छिन् । उनले आफूले दुबै प्यानलका उम्मेद्धारहरुलाई पहिलादेखि नै सहमति गरेर अगाडि बढ्न सुझाउँदै आएको पनि बताएकी छिन् । उनले अझै पनि सहमति गर्ने समय बाँकी रहेकाले सहमतिबाट नै नेतृत्व चयन गर्ने पक्षमा आफूहरु रहेको बताएकी छिन् ।





























प्रतिक्रिया