काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनका कारण देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनसार आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली भू-भागको केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






























