सोलुखुम्बु,१६,मंशिर
उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पपछिको पुनःनिर्माण कार्यले अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार खुम्जुङमा आयोजित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले पुनःनिर्माण कार्यले गति लिन नसक्नु दुःखद भएको बताए।
उनले हिमालयन ट्रष्ट नेपालले विभिन्न दाताहरुको सहयोगमा निर्माण गरेको १५ वटा विद्यालयको भवन जिल्ला शिक्षा अधिकारीलाई हस्तान्तरण गरे । हिमालयन ट्रष्टले विभिन्न १५ विद्यालयमा ७० वटा कक्षा कोठाको भवन निर्माण गरेको छ । उपराष्ट्रपतिले खुम्जुङ माध्यामिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन समेत गरे। ‘विद्यालयका भवन मात्रै होइन भूकम्पले क्षति पुर्याएको अन्य संरचनाहरुको पुनःनिर्माणको कामले अपेक्षित गति लिन सकेको छैन’, उनले भने, ‘भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा पनि पुनःनिर्माणका कामले गति लिन नसक्नु दुःखद कुरा हो।’ कार्यक्रममा उपराष्ट्रपति पुनले विश्वका धेरै मानिसहरु नेपाललाई सगरमाथा र गौतम बुद्धको देशको रुपमा चिन्ने उल्लेख गर्दै सगरमाथाको देश भनेर नेपाललाई चिनाउने शेर्पा समुदाय भएको बताए। ‘हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो समुदाय शेर्पा समुदाय हो’, उनले भने, ‘हिमाल आरोहण तथा पर्यटनको माध्यामबाट शेर्पा समुदायले हाम्रो राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याईरहेको छ।’
नागरिकबाट































प्रतिक्रिया