विश्वकपबाट लज्जास्पद बहिर्गमनपछि जर्मनीका प्रशिक्षकले दिए राजीनामा

विश्वकपबाट लज्जास्पद बहिर्गमनपछि जर्मनीका प्रशिक्षकले दिए राजीनामा

केन्द्रबिन्दु
18
Shares

बर्लिन । सन् २०२६ को विश्वकप फुटबलमा पाराग्वेसँग अप्रत्यासित हार ब्यहोर्दै जर्मनी प्रतियोगिताबाट बाहिरिएपछि मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले आफ्नो पदबाट राजीनामा दिएका छन्। जर्मन फुटबल संघले शुक्रबार नागेल्सम्यानको बहिर्गमनको औपचारिक पुष्टि गरेको हो।

३८ वर्षीय नागेल्सम्यानले सन् २०२८ को युरोपियन च्याम्पियनसिपसम्मको सम्झौता बाँकी छँदै तीन वर्षपछि राष्ट्रिय टोलीको जिम्मेवारी छाडेका हुन्। सन् २०२५ को जनवरीमा उनको सम्झौता नवीकरण भएयता डिएफबीसँगको सम्बन्ध केही जटिल बनेको थियो। औपचारिक घोषणा हुनु अघिल्लो दिन मात्रै उनीहरूबीच करिब तीन घण्टा लामो गोप्य छलफल भएको बताइएको छ।

राजीनामा पछि एक विज्ञप्ति जारी गर्दै नागेल्सम्यानले भने, “यो निर्णय मेरा लागि कति पनि सहज थिएन। टोलीको सफलता नै सधैँ मेरो मुख्य प्राथमिकता रह्यो। विश्वकपको यो नमीठो निराशाजनक नतिजापछि टोलीले कुनै पुरानो बोझविना नयाँ सुरुवात गर्ने अवसर पाउनु आवश्यक छ।”

उनले जर्मन समर्थकहरूसँग माफी माग्दै कठिन समयमा पनि दिएको साथका लागि धन्यवाद समेत दिए।

नागेल्सम्यानसँगै उनका सहायक प्रशिक्षकहरू बेन्जामिन ग्लुक र बेन्जामिन ह्युब्नरले पनि टोली छाडेका छन् ।

जर्मनीको प्रशिक्षकका रूपमा नागेल्सम्यानले ३७ खेलमध्ये २३ खेलमा जित निकालेका थिए भने ८ खेलमा मात्र पराजय भोगेका थिए। ती पराजयहरूमध्ये स्पेन, पोर्चुगल र फ्रान्सजस्ता बलिया टोलीहरू विरुद्धका हार स्वाभाविक मानिए पनि सन् २०२६ को विश्वकपमा इक्वेडर र पाराग्वेसँग ब्यहोरेको हार नै उनको बहिर्गमनको मुख्य कारण बन्यो। कुनै समय फुटबल जगतकै सबैभन्दा प्रतिभावान र उदीयमान मानिएका यी युवा प्रशिक्षकको खेल जीवनमा यो अर्को एउटा ठूलो धक्का हो।

Logo