काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।
मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको छ । कोषको कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्ति गरिएको छ । त्यसैगरी कोषको सदस्यहरूमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा पुरुषोत्तम भट्टराई नियुक्त भएका छन् । समितिको सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।
त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त हुनुभएको छ । सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन् ।
मन्त्रालयले पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ । मन्त्रालयले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यको रूपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको जनाएको छ ।






























